हेरम्बराज बास्तोला
मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा, सङ्गठनमा, निर्णय प्रक्रियामा, आलोचना र आत्मालोचनामा अनि साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ ।
विषयप्रवेश
हालै नेकपा एमालेका नेता माधव ढुङ्गेलले आफ्नो फेसबुक स्टाटसमा एउटा विचार प्रस्तुत गरेका छन्, जसमा उनले लेखेका छनः
"एउटा मानिस हुर्कने क्रममा अनेक अवस्थाबाट गुज्रिएको हुन्छ । उसँग सवलता र कमजोरी सँगसँगै प्रकट भएका हुन्छन् । कमजोरी र सवलताको समष्टिमा हेर्ने चिन्तन नै मार्क्सवादी चिन्तन हो।"
पछिल्ला दिनमा एमाले कार्यकर्ताका रूपमा सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका सामग्रीहरू धेरैजसो कसैको देवत्वकरण वा कसैको राक्षसीकरणमा सीमित भइरहेका छन् । यस्ता असन्तुलित प्रवृत्तिको बीचमा ढुङ्गेलको माथिको पोस्ट सैद्धान्तिक दृष्टिले सन्तुलित र विचारयोग्य देखिन्छ । यहाँ यही अभिव्यक्तिलाई आधार बनाएर यस लेखमार्फत आलोचनात्मक टिप्पणी प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
मार्क्सवाद : विचार र व्यवहारको प्रणाली
मार्क्सवाद केवल दर्शनशास्त्रीय वा समाजशास्त्रीय सिद्धान्त मात्र होइन, यो एउटा गहिरो सामाजिक व्यवहारको प्रणाली वा मार्गदर्शन हो । व्यक्तिको जीवन, समाजको संरचना, राज्य र वर्गबीचको द्वन्द्वमार्फत मानवीय मुक्तिको खोजी गर्नु यसको मूल उद्देश्य हो ।
ढुङ्गेलको भनाइमा मानवीय जीवनका दुई पाटा सवलता र कमजोरी लाई समष्टिमा बुझ्ने दृष्टिकोणलाई मार्क्सवादसँग जोडिएको छ । यसको बलियो तार्किक आधार छ । मार्क्सवादले मानव चेतनालाई स्थिर नभई परिवर्तनशील र द्वन्द्वात्मक रूपमा हेर्छ । यसले मानिसलाई समाजको उत्पादन सम्बन्धमा आवद्ध प्राणी मानेर ऊभित्रका कमजोरी र सवलतालाई एकैसाथ समेट्न खोज्दछ तर यत्ति भन्दैमा मार्क्सवाद केवल दार्शनिक सहिष्णुताको नाममा व्यक्तिको व्यवहारिक त्रुटिहरूलाई ढाकछोप गर्ने माध्यम पनि हुनै सक्दैन ।
मार्क्सवादी परम्पराको आत्मा
मार्क्सवादको एउटा मूल आत्मा भनेकै आलोचना तथा आत्मालोचना हो । चिनियाँ कम्युनिस्ट पार्टीका सन्दर्भमा माओले नै "आत्मालोचना गर, आत्मालोचना गर" भनेर सैद्धान्तिक आग्रह गरेका थिए । आलोचना र आत्मालोचनाले व्यक्ति र पार्टी दुवैलाई सुधारको मार्गतर्फ लैजान्छ भन्ने विश्वास मार्क्सवादी परम्पराको आधार हो । तर विडम्बना, आज आलोचना गर्नेहरूलाई नै 'घातक', 'पार्टीविरोधी', 'अवसरवादी' भनी आरोपित गर्ने, दण्डित गर्ने र अवसरहरूबाट वञ्चित गर्ने प्रवृत्ति बढ्दो छ । के यस प्रवृत्तिले मार्क्सवादको आत्मालाई धोका दिएको होइन र ? यदि मार्क्सवादी चिन्तनलाई कमजोरी र सवलताको समष्टिमा बुझ्ने हो भने आफूलाई मार्क्सवादी दावी गर्ने दलहरूभित्र आलोचना सुन्न सक्ने र सुधार्न सक्ने मानसिकता र तत्परता हुनु आवश्यक छ । आजको यथार्थ यसभन्दा बिल्कुल फरक देखिन्छ । यहाँ त आलोचकहरूलाई चुप लगाइन्छ, निष्कासित गरिन्छ, निलम्बनमा राखिन्छ । यसले मार्क्सवादी व्यवहारप्रतिको विसङ्गत र दोहोरो मापदण्ड द्योतन गर्दछ ।
आलोचना विरोध होइन सुधारको अपेक्षा हो
कसैको आलोचना गर्नु उसको समग्र अस्तित्वमाथि हमला गर्नु होइन । मार्क्सवादी दृष्टिकोणले पनि यसलाई स्वीकार्छ । मार्क्सले पूँजीवादको आलोचना गर्दा सबै पूँजीपतिलाई व्यक्तिगत रूपमा दुश्मन ठानेनन् र भनेनन् । मार्क्सले त उनीहरूका 'वर्गीय भूमिका' को आलोचना गरे । त्यसैगरी, कुनै पार्टीको नेतृत्वमा देखिएका व्यक्तिगतरूपमा कमजोरीहरूको आलोचना गर्नु पार्टीको मूल दृष्टिकोणमाथिको आक्रमण होइन । प५ल्लो समय हाम्रो व्यावहारिक राजनीतिमा कसैको अझ नेतृत्वमा बसेकाहरूको आलोचना गर्नु भनेको षड्यन्त्र गर्नुजस्तै मानिन्छ यस्तो परिस्थिति हुनु निकै चिन्ताजनक छ । ढुङ्गेलकै पार्टीका थुप्रै नेता कार्यकर्ता आलोचना गरेबापत कारबाहीमा परेका उदाहरणहरू छन् । भीम रावल विन्दा पाण्डे र उषाकिरण तिमल्सिना त्यसका पछिल्ला ज्वलन्त यदाहरण हुन् । के यस प्रवृत्तिले मार्क्सवादी परम्परा र प्रणालीको रक्षा गर्ला त भन्ने सन्दर्भमा गम्भीर चिन्तन हुनु आवश्यक छ ।
मार्क्सवाद जीवनशैली हो नकि केवल गीत
आजकल मार्क्सवादको चर्चा प्रायः भाषणमा, नारामा, काव्य र गीतिश्रृङ्खलामा मात्रै सीमित हुँदै गएको देखिन्छ । व्यवहारमा पूँजीवादी शैली, उपभोक्तावादी दिनचर्या र व्यक्तिपूजामा रमाउने मनोवृत्ति उत्तरोत्तर बढ्दै गइरहेको छ । जसरी कुनै पुरानो शास्त्रीय गीत रमाइलो लाग्न सक्छ तर जीवनशैली नबन्न सक्छ, त्यसरी नै मार्क्सवाद पनि कुनै पुरानो क्रान्तिकारी गीतसरह दोहोरिरहने गीतजस्तो मात्र बन्न थालेको छ । मार्क्सवाद र मार्क्सवादी हौँ भन्नेहरूका जीवनशैलीका बिचको भेटघाट दुर्लभप्रायः हुदै गएको छ । ढुङ्गेलको पोस्टले उनमा रहेको एउटा अपेक्षा भने देखाउँछ, जहाँ विचारलाई पुनः व्यवहारसँग जोड्नुपर्छ भन्ने उनको चाहना प्रकट भएको देखिन्छ । उनको यो कोसिस व्यक्तिगत मात्र हो कि संस्थागत सोचमा पनि प्रतिबिम्बित भएको हो त ? भन्ने सवाल पनि उत्तिकै महत्त्वका साथ खडा हुन्छ ।
विचारको मौखिक अभिव्यक्ति र अभ्यासमा फरक
सैद्धान्तिक रूपमा सवल भनिएको विचार व्यवहारमा चाहिँ किन कमजोर हुन्छ ? यसको जवाफ व्यक्ति र संस्थाले विचारलाई व्यवहारमा रूपान्तरण गर्न नचाहनु वा नसक्नु हो भनी दिन सकिन्छ । सामाजिक सञ्जालमा ढुङ्गेलजस्ता नेताहरूले सन्तुलित चिन्तन प्रस्तुत गर्दा त्यो स्वागतयोग्य हुन्छ । तर यिनै नेताहरूले आफ्ना दलभित्र आलोचनाको स्थानलाई बचाउन र फराकिलो तुल्याउन वकालत वकालत गर्नुको साटो किन मौनता साँध्दछन् भन्ने पक्ष सोचनीय छ । के उनीहरूका पुस्ताले दलभित्र आलोचना र आमालोचनाको संस्कृतिलाई पुनर्जागृत गर्न सक्छन् ? यदि कुनै विचारले आलोचना गर्ने अधिकार दिँदैन भने त्यो विचार सैद्धान्तिक रूपमा नै अपूर्ण हुन्छ । मार्क्सवादले आलोचना मात्र होइन, 'आत्म' आलोचना पनि गर्ने आँगन दिन सक्नुपर्दछ ।
मार्क्सवादी राजनीतिमा हराएका मूल्यहरू
मार्क्सवादले शिक्षालाई समाज परिवर्तनको साधन मानेको थियो । जनताको चेतनास्तर उकासेर क्रान्तिको दिशा तय गर्ने कार्यमा शिक्षाको भूमिका अनिवार्य थियो । आज त्यो चेतना पार्टी प्रशिक्षण केन्द्रहरूका संरचनामा सीमित छ । आम कार्यकर्ता राजनीतिक कार्यक्रमभन्दा बढी व्यक्तिपूजामा मग्न छन् । पार्टी पद्धतिका नाममा फरक मतउपर अनुशासनको डण्डा चलाउने प्रवृत्तिले विचारको बन्ध्याकरण गरी केवल अनुचरहरूको यन्त्रिक पङ्क्ति खडा गरिरहेको देखिन्छ । अनुशासनलाई विचारको बाधक र अन्धविश्वासको परिपोषक बनाउने प्रवृत्ति चिन्ताजनक छ ।
सांस्कृतिक प्रतिरोध र आजको सन्दर्भ
मार्क्सवादको मूल चिन्ता उत्पादन प्रणाली र वर्गीय सम्बन्ध थियो तर यससँगै मार्क्सवादले सांस्कृतिक औपनिवेशिकता, भाषिक पहिचान, जातीय विभेदजस्ता मुद्दाहरूलाई पनि समेट्दै गयो । आज यी विषयहरू पार्टी राजनीति र चुनावी भाषणमा त आउँछन् तर नीति निर्माणमा चाहि बेवास्तामा परिरहेका हुन्छन् । सांस्कृतिक प्रतिरोधको नाममा कहिले कुन जातिको देवत्वकरण र कहिले अर्कोको राक्षसीकरण हुने क्रम चलिरहेछ । यस्तो अवस्था सुसंस्कृत मार्क्सवाद होइन ।
मार्क्सवाद व्यवहारको धरातलमा फर्कनुपर्छ
ढुङ्गेलको फेसबुक पोस्टलाई एउटा वैचारिक प्रस्थानविन्दु मानेर यस लेखमार्फत समीक्षा गरियो । सवलता र कमजोरीका समष्टिका रूपमा मानवलाई हेर्ने दृष्टिकोणले सैद्धान्तिक रूपमा मार्क्सवादसँग तादात्म्य राख्छ तर यथार्थ राजनीतिमा सैद्धान्तिक मूल्यहरूको व्याख्या गर्ने तर व्यवहारमा पिठिउँ फर्काउने प्रवृत्ति हाबी भएको परिप्रेक्षमा यस्ता सैद्धान्तिक बहस र विमर्श पनि निरर्थक सावित हुन पुग्दछन् । अतः मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा, सङ्गठनमा, निर्णय प्रक्रियामा, आलोचना र आत्मालोचनामा अनि साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ । जीवनभन्दा टाढाको नारा ।