मार्क्सवाद र जबजः गतिशील वैचारिक बहसकोआवश्यकता

  • Posted By: Heramba Bastola
  • May 19th, 2025
image

हेरम्बराज बास्तोला

मार्क्सवाद विश्वभरका समाजहरूको आर्थिक, सामाजिक र राजनीतिक संरचनालाई विश्लेषण गर्ने शक्तिशाली औजार हो ।  नेपालजस्तो सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा विविधतामय देशमा मार्क्सवादको अध्ययन र प्रयोगले झन् विशेष महत्त्व राख्दछ ।  तर, हाम्रो वैचारिक अभ्यास कति गतिशील छ ?  हामीले मार्क्सका सिद्धान्तहरूलाई कसरी बुझ्दछौँ र तिनलाई नेपाली सन्दर्भमा कसरी लागू गर्न सकिने ठान्दछौँ ?  यी प्रश्नहरूले हामीलाई नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक आधार र खासगरी मदन भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद' (जबज) को समीक्षा गर्ने आधार प्रदान गर्दछन् । यस लेखमा मार्क्सवादको गतिशील विशेषता,  मौलिक मार्क्सवादका रूपमा नेपाली समामा जबजको सान्दर्भिकता र तिनीहरू उपर वैचारिक बहसको आवश्यकतामाथि चर्चा गर्ने प्रयास गरिएको छ । विशेषगरी नेपाली सन्दर्भमा जबजको पुनर्व्याख्या हुनुपर्ने कुरालाई स्पष्ट पार्न र नोम चम्स्कीको उदाहरणलाई प्रस्तुत गरिएको छ,  जसले अध्ययन विश्लेषण बहस तथा अभ्यासले सिद्धान्तलाई निरन्तर परिष्कार हुदै परिपुष्टिका दिशातर्फ बढिरहने गतिशील दस्तावेजका रूपमा चिनाउन सहयोग पुग्नेछ ।

मार्क्सवाद:  केवल किताबी पाठ कि जीवन्त सिद्धान्त ?

मार्क्सवादलाई बुझ्ने हाम्रो परम्परागत दृष्टिकोणले हामीलाई सीमित बनाएको छ ।  विगतमा हाम्रो अध्ययन सूचनात्मक थियो, समालोचनात्मक होइन । मार्क्स, लेनिन वा माओका भनाइलाई सन्दर्भसहित उद्धृत गर्न सक्यो भने हामी त्यसलाई विद्वता ठान्थ्यौं ।  यस्तो दृष्टिकोणले मार्क्सवादलाई किताबको मृत पाठमा मात्र सीमित बनायो ।  हाम्रा 'मार्क्सवादी विद्वानहरू' ले भाषण त गर्थे, तर तिनका तर्कहरूमा युगसापेक्षता  र  समाजसँगको सान्दर्भिकताको पक्ष अभाव हुन्थ्यो । मार्क्सका अवधारणाहरूलाई नवमार्क्सवादी विचारकहरू जस्तै जुर्गेन ह्यावर्मास, एन्टोनियो ग्राम्सी र पियरे बर्ड्यु अदिले समयसापेक्ष विस्तार र परिमार्जन गरे ।  ह्यावर्मासले मार्क्सवादको आर्थिक निर्धारणवादका मान्यतामा रहेको अपूर्णता पुष्टि गरे र सञ्चारमूलक कार्यको सिद्धान्तमार्फत लोकतान्त्रिक समाजसँग जोडे । ग्राम्सीले सांस्कृतिक वर्चस्वको अवधारणामार्फत वैचारिक सङ्घर्षको महत्त्वलाई पनि प्रकाशमा ल्याए ।  बर्ड्युले सामाजिक पूँजीको अवधारणामार्फत मार्क्सवादी विश्लेषणलाई समृद्ध बनाए ।  यी विचारकहरूले मार्क्सवादलाई गतिशील र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गरे तर हाम्रा  'शुद्ध मार्क्सवादी'  नेताहरूले मार्क्सवादका पुरानै मान्यताहरूलाई अलापिरहे ।

भाषाविद् नोम चम्स्कीको उदाहरण विशेष रूपमा सान्दर्भिक छ । चम्स्कीले १९५० को दशकमा 'रूपान्तरण व्याकरण' सिद्धान्त प्रतिपादन गरे, जसले भाषाविज्ञानको क्षेत्रमा क्रान्ति ल्यायो। चम्स्कीको यो सिद्धान्तले भाषाविज्ञानमा नयाँ बहसको सुरुवात गर्‍यो र विश्वभरका विद्वानहरूले यसलाई अध्ययनको केन्द्र बनाए । चम्स्कीको योगदान उनको प्रारम्भिक सिद्धान्तमा मात्र सीमित रहेन ।  उनले आफ्नो सिद्धान्तलाई निरन्तर परिमार्जन र परिष्कृत गरे । उनले  पाँच पटक आफ्नो सिद्धान्तलाई संशोधन गरे । चम्स्कीले आफूद्वारा प्रतिपादित सिद्धान्तउपर अध्येता र आलोचकद्वारा अभिव्यक्त मतहरूको निरन्तर निरीक्षण गरिरहे र यस्ता आलोचनाहरूलाई गम्भीरतापूर्वक लिएर आफ्ना तर्कलाई परिष्कृत गर्ने काम जारी राखे । यस क्रममा उनले आफ्नो मूल अवधारणालाई भने जीवित राखे ।  उनको यो लचकता र वैज्ञानिक दृष्टिकोणले उनको सिद्धान्तलाई जीवन्त र सान्दर्भिक बनाइराख्यो । चम्स्कीको यो वैचारिक यात्रा मार्क्सवाद र जबजको सन्दर्भमा समेत शिक्षाप्रद छ ।  यदि कार्ल मार्क्सले लामो जीवन पाएका भए वा नवमार्क्सवादी विचारकहरूका तर्कहरूसँग साक्षात्कार र बहस गर्ने अवसर पाएका भए, उनले पनि आफ्ना सिद्धान्तहरूमा परिवर्तन गर्थे होलान् । चम्स्कीको जस्तै मार्क्सवादको मूल आत्मा गतिशीलता, वैज्ञानिक विश्लेषण र समयसापेक्ष परिमार्जन हो, न कि अपरिर्तनीय सत्यको पूजा ।  तर, नेपालका सन्दर्भमा मार्क्सवादको अध्ययनमा यस किसिमको गतिशीलताको अभाव रह्यो । हामीले मार्क्सवादका विदेशी मोडेलहरूलाई जस्ताको तस्तै आयात गर्‍यौं, जसले नेपालको सामन्ती संरचना, जातीय विविधता र सांस्कृतिक जटिलतासँग मेल खाएन ।

जबज: नेपाली सन्दर्भमा मार्क्सवादको नवीन प्रयोग

मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' (जबज) प्रतिपादन गरेर मार्क्सवादलाई नेपाली माटोअनुरूप विकास गर्ने ऐतिहासिक प्रयास गरे। जबज केवल राजनीतिक कार्यक्रम होइन यो त नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थमा आधारित क्रान्तिको मौलिक मार्गचित्र हो ।  भण्डारीले नेपालको सामन्ती संरचना, जातीय र क्षेत्रीय असमानता तथा लोकतान्त्रिक आकाङ्क्षालाई बुझेर नेपाली सन्दर्भमा मार्क्सवादलाई पुनर्व्याख्या गरे । उनले एकदलीय सर्वसत्तावादको सट्टा बहुदलीय प्रजातन्त्रलाई क्रान्तिकारी परिवर्तनको आधार बनाए । यो अवधारणाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दियो र विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको विशिष्ट योगदानको रूपमा स्थापित भयो । जबजको मूल शक्ति यसको गतिशीलता र नेपाली सन्दर्भसँगको गहिरो सम्बन्ध हो । भण्डारीले मार्क्सवादको कठोर वर्ग सङ्घर्षको सट्टा समावेशी र प्रजातान्त्रिक दृष्टिकोण अपनाएर आफ्नो मान्यता अगाडि ल्याएका हुन् । जबजले कम्युनिस्ट आन्दोलनलाई व्यापक जनसमुदायसँग जोड्यो, किनभने यो सैद्धान्तिक अभ्यास मात्र नभएर नेपाली समाजको यथार्थमा आधारित थियो । आज जबजको गतिशीलता हराउँदै गएको आभाष भइरहेको छ ।  कतिपयले जबजलाई गीता, बाइबल वा कुरानजस्तै अपरिवर्तनीय दस्तावेज बनाउने प्रयास पनि गरिरहेका छन् ।  जबजलाई पुर्ख्यौली सम्पत्ति वा नश्लको अंशजस्तो बनाउन खोजिनु भनेको भण्डारीको वैचारिक विरासतलाई सङ्कुचित गर्ने दुस्प्रयास गर्नु मात्र हो । जबजको विकासमा धेरैको योगदान छ, तर यसलाई जीवन्त राख्न निरन्तर बहस र परिमार्जन आवश्यक छ ।

वैचारिक स्थिरताको खतरा

मार्क्सवाद र जबजको मूल शक्ति तिनको गतिशीलतामा छ तर हाम्रो वैचारिक अभ्यासमा निरन्तर स्थिरता हावी हुँदै गएको देखिन्छ । हामीले मार्क्सवादलाई किताबी पाठ र जबजलाई अपरिवर्तनीय दस्तावेज मात्र बनायौं । यस प्रवृत्तिले हामीलाई समसामयिक चुनौतीहरूको सामना गर्न असमर्थ बनाउँदै लगेको छ ।  आजको विश्वमा पूँजीवादले नवउदारवाद, विश्वव्यापीकरण, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तामार्फत नयाँ रूप लिएको छ । नेपालमा पनि यसको तीव्रतर प्रभाव परिरहेको छ यसले नेपालको सामाजिक संरचना बदलिएको छ ।  जातीय, क्षेत्रीय र लैङ्गिक पहिचान, जलवायु परिवर्तन, आर्थिक असमानता, युवा पलायन  र तीव्र सहरीकरणजस्ता मुद्दाहरूले नयाँ किसिमका समाधानका उपाय माग गरिरहेका छन् । यस सन्दर्भमा यी नवीनतम सन्दर्भलाई सम्बोधन गर्नेगरी जबजलाई समयसापेक्ष पुनर्व्याख्या गर्नु अपरिहार्य देखिएको छ ।

नेपाली सन्दर्भमा जबजको पुनर्व्याख्या

जबजलाई नेपाली समाजको बदलिँदो यथार्थसँग जोड्न गहन पुनर्व्याख्या आवश्यक छ ।  नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय सन्दर्भमा जबजलाई पुनर्व्याख्या गर्न निम्न क्षेत्रहरूमा ध्यान दिनुपर्छ:

आर्थिक नीति समाजवादी दृष्टिकोण

जबजले सामन्ती संरचनाको अन्त्य र समाजवादी अर्थतन्त्रको निर्माणमा जोड दिएको छ तर आज नेपाल विश्व बजारसँग जोडिएको छ ।  नवउदारवादी नीतिहरूले असमानता बढाएका छन् । निजीकरण, विदेशी लगानी र बजार अर्थतन्त्रले ग्रामीण र शहरी क्षेत्रमा नयाँ वर्ग संरचना सिर्जना गरेको छ । यस्ता परिप्रेक्ष्यमा नेपलमा अपनाइने आर्थिक नीतिका सम्बन्धमा निम्न पक्षहरू ध्यानयोग्य छन्

रोजगारी सिर्जना:  नेपालमा युवा पलायन ठूलो समस्या हो। जबजले उत्पादनमूलक उद्योग, स्टार्टअप व्यवसाय र साना व्यवसायलाई प्रोत्साहन गर्ने नीतिलाई जोड दिनुपर्छ । उदाहरणका लागि, कृषिमा आधारित उद्योग र पर्यटनले रोजगारी सिर्जना गर्न सघाउ पुर्याउन सक्छ ।

सामाजिक सुरक्षा:  असङ्गठित क्षेत्रका श्रमिक, किसान र विपन्न वर्गका मानिसहरूका लागि स्वास्थ्य बीमा, पेन्सन र बेरोजगारी भत्ताजस्ता योजनाहरूलाई जबजको प्राथमिकतामा राख्नुपर्छ ।

दिगो आर्थिक ढाँचा:  नेपालको सन्दर्भमा समाजवादी अर्थतन्त्र भन्नाले पूर्ण राष्ट्रियकरण नभई मिश्रित अर्थतन्त्र हो, जहाँ सार्वजनिक र निजी क्षेत्रले सामाजिक न्यायलाई केन्द्रमा राखी सेवा तथा उत्पादनका क्षेत्रमा लगानी गर्दछन् ।

सामाजिक समावेशीकरण पहिचानका मुद्दाहरू

नेपालको जातीय, क्षेत्रीय र लैङ्गिक विविधता जबजको पुनर्व्याख्याको केन्द्रमा हुनुपर्छ । सङ्घीयताले पहिचान र समावेशीकरणका मुद्दाहरूलाई अगाडि ल्याएको छ । जातीय र क्षेत्रीय समावेशीकरण: दलित, जनजाति, मधेसी र हिमाली समुदायका लागि सङ्घीय संरचनामा स्रोतको समन्यायिक वितरण र स्थानीय स्वायत्तता सुनिश्चित गर्नुपर्छ ।

लैङ्गिक समानता: जबजले महिलालाई नेतृत्व र निर्णय प्रक्रियाको केन्द्रमा राख्नुपर्छ । लैङ्गिक हिंसा, सम्पत्तिमा अधिकार र कार्यस्थलमा समानताजस्ता मुद्दाहरूलाई प्राथमिकता दिनुपर्छ ।

सामाजिक आन्दोलनसँग सहकार्य: जातीय र लैङ्गिक पहिचानका आन्दोलनहरूसँग संवाद र सहकार्य गरेर जबजलाई समावेशी अवधारणाको भरपर्दो आधार बनाउनुपर्छ ।

युवा, प्रविधि डिजिटल अर्थतन्त्रः नेपालका युवाहरू डिजिटल प्रविधि र विश्वव्यापी आन्दोलनहरूसँग जोडिएका छन् । जबजलाई युवामैत्री बनाउन डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ ।

डिजिटल समावेशीकरण: ग्रामीण क्षेत्रमा इन्टरनेट र डिजिटल साक्षरताको विस्तारले युवालाई आर्थिक अवसरसँग जोड्न सक्छ ।

शिक्षा सि विकास: कृत्रिम बुद्धिमत्ता, हरित प्रविधिमा सीप विकासलाई जबजले प्राथमिकता दिनुपर्छ ।

युवा नेतृत्व:  युवाहरूलाई जबजको पुनर्व्याख्यामा सहभागी  गराउनुपर्छ । वातावरणीय न्याय दिगो विकासः जलवायु परिवर्तन नेपालका लागि ठूलो चुनौती हो ।  जबजमा वातावरणीय न्यायको मुद्दालाई समेट्नुपर्छ ।

हरित अर्थतन्त्र:  नवीकरणीय ऊर्जा, वन संरक्षण र दिगो कृषिललाई प्राथमिकता दिनुपर्छ ।

जलवायु अनुकूलन: किसान र स्थानीय समुदायका लागि जलवायु अनुकूलन नीति बनाउनुपर्छ ।

वातावरणीय आन्दोलनसँग सहकार्य: जलवायु न्यायका आन्दोलनहरूसँग सहकार्य गर्नुपर्छ।

सङ्घीयता स्थानीय शासनः सङ्घीयताले शासन संरचनालाई पुनर्परिभाषित गरेको छ। जबजले सङ्घीय संरचनालाई समाजवादी लक्ष्यसँग जोड्नुपर्छ । स्थानीय स्वायत्तता: स्थानीय तहलाई आर्थिक र प्रशासनिक अधिकार प्रदान गर्नुपर्छ ।

स्रोतको समन्यायिक वितरण: प्रदेश र स्थानीय तहबीच स्रोतको असमान वितरणलाई सम्बोधन गर्नुपर्छ ।

लोकतान्त्रिक अभ्यास: लोकतान्त्रिक जवाफदेहिता र पारदर्शितालाई जोड दिनुपर्छ।

विश्व सन्दर्भमा जबजः नेपाल विश्व अर्थतन्त्र र भूराजनीतिक प्रभावबाट अलग छैन। जबजले विश्व सन्दर्भलाई समेट्नुपर्छ ।

आर्थिक स्वायत्तता: विदेशी लगानी र ऋणमा निर्भरताको सट्टा आत्मनिर्भर अर्थतन्त्रको खाका प्रस्तुत गर्नुपर्छ ।

क्षेत्रीय सहकार्य: दक्षिण एसियाली सन्दर्भमा क्षेत्रीय सहकार्यलाई जोड दिनुपर्छ । विश्वव्यापी आन्दोलनसँग एकता:  जलवायु परिवर्तन, श्रमिक अधिकार र लैङ्गिक समानताका आन्दोलनहरूसँग संवाद गर्नुपर्छ ।

गतिशील वैचारिक बहसको आवश्यकताः जबजको पुनर्व्याख्यालाई जीवन्त बनाउन गतिशील वैचारिक बहस अपरिहार्य छ ।  यस्तो बहसले समसामयिक विश्लेषण, आलोचनात्मक दृष्टिकोण, समावेशी सहभागिता र वैज्ञानिक दृष्टिकोणलाई समेट्नुपर्छ ।

निष्कर्ष:

वैचारिक क्रान्तिको बाटो मार्क्सवाद र जबज नेपाली समाजको परिवर्तनका शक्तिशाली औजार हुन् तर तिनलाई जीवन्त राख्न निरन्तर बहस, परिमार्जन र समसामयिक विश्लेषण आवश्यक छ । जबजलाई आर्थिक समानता, सामाजिक समावेशीकरण, वातावरणीय न्याय, डिजिटल समावेशीकरण र सङ्घीय लोकतन्त्रसँग जोडेर पुनर्व्याख्या गर्नुपर्छ। वैचारिक गतिशीलता, समावेशी बहस र वैज्ञानिक दृष्टिकोण नै जबज र मार्क्सवादको साँचो सम्मान हो, र यही नै नेपाली क्रान्तिको भविष्य हो ।

२०८२ जेठ ३ गते ३२ औँ मदन आश्रित स्मृति दिवसका अवसरमा लेखिएको

Array