हेरम्बराज बास्तोला
सामाजिक सञ्जालले आजका दिनमा समाजको ऐना बन्ने काम गर्दै आएको छ। यस्तै एक भाइरल भिडियोले मलाई गहिरो भावनात्मक स्पर्श दियो, जसले केवल दृश्यमा आधारित मनोरञ्जन मात्र होइन, समाज र संस्कारबारे सोच्न बाध्य बनायो।
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । त्यसमा एक आमाले आफ्ना छोरा र छोरीलाई छेउमा राखेर एउटा खेल खेल्छिन् । तीनवटा थालमा कचौरा घोप्ट्याइएका छन् , आमाले सोध्छिन् "पहिला कचौरा कसले उतार्ने ?" छोरीले "म" भन्दै कचौरा उतार्छिन् त्यसभित्र एउटा रोटी हुन्छ , छोराले कचौरा उतार्छ , त्यहाँ पनि एउटा रोटी हुन्छ । अब आमाको पालो आउँछ सबैको ध्यान आमाको भागतिर हुन्छ आमाले कचौरा उतार्छिन् तर त्यहाँ रोटी हुदैन । एकैछिन दाजुबहिनी दुवै अलमल्ल पर्छन् तर बहिनी चाहिँले छिटै निर्णय गर्छिन : आमा मेरो भागको रोटी हामी आधाआधा खाऊँ है यति भन्दै उनले आधा रोटी आमाको भागमा राखिदिन्छिन् ।
सामान्यजस्तो लाग्ने यो दृश्यमा असामान्य भावनाको गहिराइ छ। भिडियोमा राखिएको क्याप्सन थियो, “त्यसैले छोरी जन्माउनु पर्छ।” यही वाक्यले विचारको बृहत् तरङ्ग उठायो। कतिपयले छोरीको ममता र समर्पणको प्रशंसा गरे, भने कसैले छोरा पनि मायालु हुन सक्ने तर्क गरे। सामाजिक सञ्जाल बहस र भावनाले भरियो।" यस पोस्टका कमेन्टमा मानिसले अनेकथरि विचार राखेका छन् कसैले छोरी नै मायालु हुन्छन् , छोरी सन्तान नै ठिक भनेका छन् । कसैले छोरा पनि मायालु हुने दावी गरेका छन् । त्यसै सिलसिलामा मलाई पनि केही टिप्पणी गर्न मन लाग्यो र मैले पनि यथार्थप्रति नतमस्तक हुँदै टिप्पणी गरेँ:
“प्रकृतिले ममताको भण्डार छोरीमा सुम्पेको छ, यहाँ आमा माथि कसैबाट आक्रमण भएको भए छोरो लठ्ठी लिएर जाइ लाग्थ्यो। छोरी ममताकी खानी हुन्, छोरा साहसका पर्याय। दुवै प्रियहरूमा उज्ज्वल भविष्यको शुभकामना!”
यो भनाइ केवल भावनात्मक प्रतिक्रिया मात्र थिएन, यसले सन्तुलनको पक्षमा उभिएको आवाज बोकेको थियो। आज पनि हाम्रो समाजमा कहिलेकाहीँ यस्ता दृश्य वा सन्देशले लिंगगत तुलना गर्ने प्रयास गर्छन् एकलाई आदर्श बनाउँदै अर्कोको अस्तित्वमा प्रश्न उठाउने। तर यथार्थ के हो भने छोरी र छोरा दुवै जीवनका सुन्दर फूल हुन् एकको सुगन्ध ममतामा छ, अर्काको सौन्दर्य साहसमा।
हामी अभिभावकको जिम्मेवारी उनीहरूलाई तुलना नगरी समान अवसर, समान माया र समान मूल्यबोधका साथ हुर्काउने हो । छोरीले माया बाँड्न सिकेकी छे, छोरा पनि त्यही माया बचाउन तयार हुन्छ। एउटाको संवेदना र अर्काको संकल्पले मात्रै सशक्त समाज बन्छ ।
भिडियोले हामीलाई एउटा गम्भीर प्रश्न छोडिदिएको छः के हामी सन्तानलाई साँच्चिकै संवेदनशील र दयालु बनाइरहेका छौं ?
यदि हाम्रा छोराछोरीले आफ्नोभन्दा अरुको दुःख पहिचान गर्न सक्ने भाव राख्न थाले भने मात्र त्यो हुर्काइ सफल मान्न सकिन्छ।
म अन्त्यमा यही भन्न चाहन्छुः छोरी जन्माउनुपर्छ, छोरा हुर्काउनुपर्छ, तर सबैभन्दा बढी– “मानवता” निर्माण गर्नुपर्छ।
यही चेतनाको बीउ बोकेर मात्र उज्यालो समाज सम्भव छ।