दुङाल उपन्यासको पाठकीय अनुभूति

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

दुङाल (पीर, दु:ख, पीडा) उपन्यासमा माटो गुमाउनुपरेको र अनागरिक भएर जीवन बिताउनु पर्दाको पीडा अभिव्यक्त छ । उपन्यासको समग्र कथा एक तिब्बती शरणार्थी युवती कार्चुङले नेपाली युवक विश्वदीपलाई संवोधन गरी भनेको शैलीमा लेखिएको छ । पत्रात्मक शैलीमा लेखिएको यस उपन्यासमा कार्चुङ आफैँले अधिकांश अनुभूति व्यक्त गरेकी छन् । लेखकले शरणार्थी शिविरमा जन्मेर हुर्केकी कार्चुङले परदेशमा नागरिकता र शरणार्थी परिचयपत्रसमेत नपाएर भोग्नु परेको दैनन्दिन समस्या र महसुस गर्नुपरेको पीडा , छिमेकीहरूबाट भेग्नुपरेको अवहेलना अनुभूतिका रूपमा अभिव्यक्त गराएका छन् भने अर्कातिर चिनियाहरूको बीभत्स आक्रमणका प्रत्यक्ष भोक्ता र साक्षी बनेर आफ्नो थातथलो र आफन्त छाडेर आएका पहिलो पुस्ताका पात्रहरू( डोल्मा आदि ..)को अनुभूतिलाई पनि जीवन्त रूपमा उतारेर कार्चुङमार्फत भनाएका छन् । तन र मनमा असङ्ख्य घाउचोट बोकेर नेपाल आइपुग्दा पनि तिब्बती शरणार्थीका दु:ख र कष्ट उस्तै छन् । यस्ता अथाह पीडाका बिच एक युवतीले गरेको असाधारण प्रेमको गाथा यस उपन्यासमा पढ्न पाइन्छ । यो उपन्यास दशकौंदेखि आफ्नो माटो र परिचय खोज्दै भौँतारिइरहेका अनागरिकहरूको आर्तनाद बोकेर आएको छ । अनेक पीडा सहदै अघि बढ्न सहनशीलताको दर्शनका रूपमा बुद्ध दर्शनलाई आत्मसात गरिएको यस उपन्यासमा प्रेम र वियोगका घटना, जीवनका असफल यात्रा र त्यस्ता परिवेशबाट पाइने मानवता र जीवनका लागि आवश्यक ज्ञानका चाखलाग्दा प्रसङ्ग पढ्न पाइन्छ । कार्चुङले हृदयदेखि प्रेम गरेर पछ्याएको विश्दीप बिचबिचमा झल्याकझुलुक देखिएपनि सघन संवादमा प्रस्तुत हुदैन । अब के होला भन्ने हुट्हुटीले उपन्यास पढिसकिएको पत्तै हुदैन ।

Array