पुन्टेलाई अंश फुटेको थाल

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

अपेक्षा बास्तोला

“तैँले फुटाएको थाल पछि तेरै अंशमा पर्नेछ ।” बुबाको यो कुरा सुनेर पुन्टे त खुसीले फुरुङ्ग भयो ।


शुक्रबारको दिन थियो । पुन्टे विद्यालयबाट घर आयो । भोकाएको पुन्टेले भन्यो “आमा खाजा के खानु ?”
“बाबु, म मिलमा गएर आउँछु । त्यति बेलासम्म तँ बस् । आउने बित्तिकै खाजा बनाइदिइहाल्छु ।” आमा त्यति भनेर मिलतिर लाग्नुभयो । पुन्टे साह्रै भोकाएको थियो । त्यसैले उसले आफैँ रोटी बनाउने निधो ग¥यो । ऊ हतारहतार हात धोएर भान्सामा पस्यो । उसले सबैभन्दा पहिले पिठो निकाल्यो । त्यसमा पानी हाल्यो र मुछ्न थाल्यो । त्यसपछि उसले एउटा चरेसको थाल निकाल्यो । त्यस थाललाई घोप्टो पारेर ऊ रोटी बेल्न थाल्यो । पछि उसले ५–६ चोटी प्रयास गरिसक्दा पनि कहिले पिठो थालमै टाँसिन्थ्यो त कहिले रोटी गोलो नै बन्दैनथ्यो । पहिले नै भोकले चुर भएको पुन्टे, त्यसमाथि आफ्नो लागि रोटी पनि बनाउन नसक्दा रिसले आगो भयो । रिसको तालमा उसले चरेसको थाललाई बेस्सरी बाहिर फालिदियो ।
आँगनको ढुङ्गामा बज्रिदा थाल त तीन टुक्रा पो भयो । एकछिन अगाडि रिसले आगो भएको पुन्टे अहिले आँगनमा फुटेको थाल देख्ने बित्तिकै डरले कालोनिलो भयो । हत्त न पत्त उसले ती थालका टुक्राहरू टिप्यो र त्यसलाई लुकाउने ठाउँ खोज्न थाल्यो । उसले हतारहतार छानाको ढ्वाँटीमा लगेर त्यसलाई लुकायो ।
जब बेलुका भयो तब आमा पनि आउनुभयो । आमाले पुन्टेलाई खाजा बनाइदिनुभयो । त्यतिबेला थालको बारेमा कसैले केही थाहा पाएनन् । त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट खाना खाने समयमा थालको खोजीनीति भयो । त्यतिबेला चरेसको थाल ठूलो कुरा थियो किनकि त्यो निकै महङ्गो हुन्थ्यो ।
“बाबु तैँले यहाँ भएको चरेसको थाल कतै लगेको थिइस् ?” आमाले सोध्नुभयो । ‘छैन आमा’, पुन्टेको यस्तो प्रतिक्रिया पछि सबैजना थाल खोज्नतिर लागे । आमाले भान्साको सबैतिर खोज्नुभयो तर थाल भेट्टाउनुभएन ।
“दिदी, हाम्री आमाले हजुरलाई चरेसको थाल दिनुभएको थियो र ?” पुन्टेले घरघरमा गएर सोध्यो र अन्तमा थालबिनै घर आयो । खोज्दै जाँदा घटनाको दुई दिनपछि आमाको आँखा छानाको त्यो ढ्वाँटीमा प¥यो । यसो हेर्दा त्यहाँ केही टल्किरहेको थियो । उहाँले के रहेछ भनेर निकाल्दा त थालका टुक्राहरू पो रहेछन् । चरेसको थाल यसरी टुक्राटुक्रा भएको देखेर आमालाई साह्रै पीर प¥यो । थालका टुक्रामा पिठो पोतिएको थियो । त्यो देखेपछि भने यो बदमासी पुन्टेकै हो भनेर आमा निश्चित हुनुभयो किनभने केही दिन अघि पुन्टेले आफूले रोटी पकाउन खोजेको तर रोटी बेल्न नजानेको कुरा बताएको थियो ।
आमाले फकाएर सोध्नुभयो । पुन्टेले डराउँदै आफूबाट भएको गल्ती स्वीकार ग¥यो । पुन्टेका बुबा कडा मिजासका हुनुहुन्थ्यो । आमाबाट पिटाइ नखाएको ऊ बुबाबाट भने पक्कै पिटाइ खाइन्छ भनेर डरले थुरथुर थियो । केहीबेरमा बुबा आइपुग्नुभयो । घरमा त्यत्रो नोक्सान भएको कुरा बुबासँग लुकाउन सक्ने कुरै थिएन । आमाले छोराको बदमासी बुबालाई सुनाइदिनुभयो ।
बुबाले पुन्टेलाई छेउमा बोलाउनुभयो । पुन्टे हावाले हल्लाएको केराको पातझैँ थुरथुर काम्दै बुबाका सामुन्ने खडा भयो । तर, आज अचम्म भयो । पुन्टेले बुबाका हातको पिटाइ खाएन । बुबाले भन्नुभयो, “तैँले फुटाएको थाल पछि तेरै अंशमा पर्नेछ ।” बुबाको यो कुरा सुनेर पुन्टे त खुसीले फुरुङ्ग भयो । उसलाई भविष्यमा पाइने अंशको भन्दा आजै पिटाइ खाइएला भन्ने पो डर थियो त ।

Array