इमानसिंहको इमान

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

अपेक्षा बास्तोला

कुरा अलि पहिलाकै हो । बुधबारको दिन थियो । इमानसिह दिनभरि पढेर चार बजे घर फर्कदै थियो । घर जाने बित्तिकै उसले गृहकार्य गर्न सुरु गर्यो । केहीबेर गृहकार्य गरेपछि खाना खाएर सुत्नका लागि ओछ्यानमा गइहाल्यो तर ऊ घण्टौँसम्म सुत्न सकेन । भोलि बिहिबारको दिन उसको गाउँमा साप्ताहिक हाटबजार लाग्थ्यो । बिहिबार मात्र हाट लाग्ने भएर त्यस बजारलाई बिहिबारे बजार भनिन्थ्यो । इमानसिंहलाई उसकी आमाले हप्ताको हरेक बिहिबार एक रुपियाँ बजार खर्चका लागि दिनुहुन्थ्यो । आफ्ना अरु कुनै साथीले यसरी बजार खर्च नपाउने भएकाले ऊ एक रुपियाँ पाउँदा पनि मख्खै पर्थ्यो । त्यो रात अबेरसम्म उसको मनमा भोलि के के किन्ने होला ? के के खाने होला भन्ने बारे अनेक तर्कना चलिरह्यो । निकै प्रयासपछि बल्ल उसलाई निद्रा लाग्यो ।

भोलिपल्ट ऊ सात बजे मात्र बिउँझियो । ऊ हतारहतार घाँस काट्न गयो । एक डोको घाँस काटेर फर्कदा नौ बजिसकेको थियो । हतारहतार खाना खाएर विद्यालयतर्फ लाग्यो । बिहिबारको दिन वरपरका सबै विद्यालय दुई बजे नै छुट्टी हुन्थे । छुट्टी पछि ऊ उसैगरी हतारहतार घर गयो र आमालाई खोज्न थाल्यो । आमालाई देख्ने बित्तिकै उसले पैसा माग्यो, “आमा, पैसा दिनु न, बजार जाने बेला भइसक्यो ।” सायद आमासँग त्यस दिन पैसा थिएन होला । त्यसैले आमाले झर्किदै भन्नुभयो, “अहिले नकरा पछि दिउँला ।”

छिटोछिटो हाट जान हतारिएको इमानसिंह पैसा नपाउँदा रुँला झैँ ग¥यो । ऊ आँगनमा गएर मलीन अनुहार बनाएर बस्यो । सबैजना बजारतर्फ लाग्दै थिए । अरु यसरी रमाउँदै गर्दा उसलाई भने झनै नरमाइलो लाग्यो । त्यही बाटो हँुदै उसका काका पनि बिहिबारेतिर जाँदै हुनुहुन्थ्यो । इमानसिंहलाई निराश देखेर उहाँले प्रश्न गर्नुभयो, “के भयो कान्छा, किन रुञ्चे मुख लगाएर बसेको, बजार नजाने ?”

“आमाले पैसा नै दिनुभएन ।” उसले निन्याउरो मुख लगाउँदै भन्यो । त्यो सुन्ने बित्तिकै काकाले आफ्नो कोटको खल्तीमा हात हालेर पैसा निकाल्नु भयो । त्यहाँबाट उहाँले सकेसम्म सानो नोट निकाल्न त खोज्नुभयो तर त्यसदिन दस रुपयाँभन्दा सानो नोट काकासँग रहेनछ । उहाँले इमानसिंहलाई त्यही दस रुपियाँको नोट दिनुभयो । अब इमानसिंहका हातमा दस रुपियाँ थियो । सधैँ एक रुपियाँ पाउने उसले त्यस दिन १० रुपियाँ पाउँदा ऊ जति खुसी त को नै थियो होला र ? ऊ हत्तपत्त बजारतिर लागिहाल्यो ।

सबैभन्दा पहिले ऊ डोल्मा आमा कहाँ खिर खान गयो । “आमोई, एक प्लेट खिर दिनु न ।” उनले एक प्पेट खिर उसलाई दिइन् । टन्न खिर खाएपछि उसले दस रुपियाँको नोट दियो । दस रुपियाँ त्यति बेला सानोतिनो कुरो थिएन । त्यो पनि बच्चाको हातमा । डोल्मा आमाले भनिन्, “कहाँबाट ल्याइस् यत्रो पैसा ? बाबाको चोरिस् कि क्या हो ? ल भइहाल्यो खिरको पैसा तिर्नु पर्दैन । यो पैसा थपक्क लगेर बाबालाई दिइहाल् ।” डोल्मा आमाले त्यति भनेपछि इमानसिंह त्यहाँबाट निस्कियो । उसको दस रुपियाँ त्यहाँ बिकेन ।

त्यसपछि आलुको तरकारी खानका लागि ऊ साइँला दाइकहाँ गयो, टन्न आलुको तरकारी खायो र त्यही दस रुपियाँको नोट दियो । “कहाँबाट आयो यत्रो पैसा ? खाजाको पैसा तिर्नु पर्दैन यो पैसा लगेर बाबालाई दिइहाल् !” त्यहाँ पनि उसको दश रुपियाँ बिकेन । त्यसपछि राजन दाइकोमा गएर उसले झिल्के मिठाइ  मागेर खायो र दस रुपियाँको नोट दियो । राजन दाइले पनि उसैगरी “यो पैसा बाबालाई दिइहाल्” भने । आखिरीमा घर पुगेर बेलुका इमानसिँहले त्यो पैसा बाबालाई दियो । बुबाआमाले इमानसिंहलाई यो पैसा कहाँबाट आयो त भनेर सोध्नुभयो । उसले त्यस दिनभरिका घटनाक्रम बतायो उसका सबै कुरा सुनेर आमाबाबा दुवै खुसी हुनुभयो । बाबाले इमानसिँहको यो इमानदारीका लागि पुरस्कार स्वरूप अबदेखि हरेक हप्ता दुई रुपियाँ बजार खर्च दिने जानकारी दिनुभयो । अब हरेक बिहिवार इमानसिंहको बजार खर्च दुई रुपियाँ भयो ।

००

Array