नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति

  • Posted By: Heramba Bastola
  • September 27th, 2024
image

विषय प्रवेश
नेपालमा फरक फरक गुण तथा विशेषता भएका जातिगत तथा भाषागत समूहहरू छन्, २०६८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क अनुसार १२५ जाति र १२३ मातृभाषी समूह रहेको उल्लेख छ । कतिले यो भाषिक विविधताको स्थितिलाई समस्याको रूपमा चित्रण गरेको पाइन्छ भने कतिले यसलाई अवसरको रूपमा लिनुपर्छ भन्ने धारणा व्यक्त गरेको पाइन्छ ।

ज्याकोब्सनले समाजमा द्विभाषिक वा बहुभाषिक स्थिति देखिनुलाई समस्याका रूपमा व्याख्या गरे भने पछिल्ला विद्वानहरूले यसलाई स्वाभाविक सामाजिक यथार्थका रूपमा लिएका छन् अधिकारी (२०६५ पृः ३९) । भाषामा भौगोलिक सामाजिक, लैङ्गिक आर्थिक उमेरगत परिवेशगत तथा प्रयोगगत रूपमा विविधता सिर्जना हुन्छ । यस्तो विविधता एउटै वा विभिन्न भाषामा पनि हुन सक्छ ।

जाति तथा भाषाका आधारमा प्रत्येक समूहका आफ्ना सामाजिक सांस्कृतिक भाषिक र अन्य प्रचलित विशेषताहरू रहेका हुन्छन्, यस्ता विशेषता सुरक्षित राख्न सर्वप्रथम भाषाकै सुरक्षा अपरिहार्य हून्छ । माचर र वेण्डेले प्रत्येक दुई हप्तामा विश्वबाट एउटा भाषा लोप हुन्छ भन्ने तर्क अघि सारेका छन् (रिमाल २०७१ पृः १ )। भाषा लोप हुनु भनेको अलिखित साहित्य भित्रको जातीय गौरव, परम्परा, अस्तित्व र सांस्कृतिक गरिमा पनि लोप हुनु हो ।

यसरी राज्यको भाषिक अवस्थिति अनुरूप भाषा सम्बन्धी राज्यले लिने भाषा नीति तथा योजनाले भाषको संरक्षण र संवद्र्धनमा प्रमुख भूमिका खेल्दछ । प्रस्तुत लेखमा भाषा नीति भाषा योजना तथा तिनका सामु सम्पन्न हुने चुनौति तथा ती चुनौतिको सामना गर्ने सम्भावित उपायका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ ।

भाषा नीतिको परिचय
‘देश भित्र बोलिने सबै भाषाहरूप्रति राज्यले गर्ने व्यवहारको मार्गदर्शन नै भाषा नीति हो’ यस भनाइलाई पुष्टि गर्न विभिन्न विद्वानहरूका भाषा नीतिसम्बन्धी मतहरूलाई हेरौँ रिगोरियमले भाषा नीति भनेको कुनै खास समाजमा सचेत रूपमा भाषालाई प्रभावित पार्ने सिद्धान्त र प्रक्रिया हो भनेका छन् ।

इसायवले राज्यमा भाषा वैज्ञानिकहरूलाई नियुक्त गरेर सचेत रूपमा प्रयोजनपूर्ण ढङ्गले कुन भाषालाई कस्तो बनाउने भन्ने सरकारले लिएको नीति नै भाषा नीति हो भनेर भाषा नीतिको परिचय दिएका छन् ।

रेज्निकले देशमा भएका सबै भाषाहरूले निरन्तरता पाउन् कि अरू भाषाहरू कुनै एउटै भाषामा अपसरण होउन् भन्ने सरकारले लिएको बैकल्पिक नीति नै देशको भाषा नीति हो भन्ने धारणा अघि सारेका छन् । मल्लिकार्जुनले शिक्षा, प्रशासन न्यायलय, आमसंचार जस्ता क्षेत्रमा राज्यमा भएका भाषाहरूमध्ये कुन भाषालाई कुन तहसम्म पु¥याउने भन्ने सरकारले लिएको धारणा नै भाषा नीति हो भनेका छन् (पोख्रेल (२०७४) ।

कुनै देशमा बोलचाल वा प्रयोगमा आउने जति भाषा छन्, ती सबै भाषाहरूलाई राज्यका कुनकुन कामका लागि रोज्ने अथवा राज्यले कुुन भाषाप्रति कस्तो व्यवहार गर्ने भन्ने नीतिलाई नै त्यस देशका सरकारको भाषा नीति भनिन्छ । देशमा रहेको भाषिक स्थिति नै भाषा नीति निर्माणको आधार हो भन्दै केही देशका भाषा नीतिका उदाहरण दिन सकिन्छ ।

कुनै बहुभाषिक देशमा बोलचाल र प्रयोगमा जति भाषाहरू आउँछन् ती सबै भाषाहरूलाई कसरी जगेर्ना, उत्थान र विकास गर्ने भन्ने, आदर्श नीतिको उदाहरण यस्तो थियो :

(क) सोभियत संघमा बहुसङ्ख्यक वा अल्पसङ्ख्यक सबै भाषाको समान अधिकार हुनुपर्छ ।

(ख) बहुसङ्ख्यक वा अल्पसङ्ख्यकद्वारा बोलिने भए पनि मातृभाषामा शिक्षा पाउनुपर्छ र आफ्नै मातृभाषा प्रयोग गरेर सरकारी सुविधा भोग्न पाउनुपर्छ

(ग) भाषाका आधारमा राज्यका कसैमाथि पक्षपात हुनुहुँदैन ।
लेनिनग्राद विश्वविद्यालयका प्राध्यापक कुर्तनेले व्यक्त गरेका सुझावका आधारमा लेनिनले भाषा नीति अघि सारेका हुन् । माथि उल्लिखित भाषा नीति सम्बन्धी परिभाषा तथा उदाहरणका आधारमा भाषा नीतिलाई निम्नानुसार थप स्पष्ट पार्न सकिन्छ : भाषा नीति भनेको देशमा भएका भाषाहरूमध्ये कुन भाषालाई कुन स्थान दिने भन्ने व्यवस्था हो ।

यसको जिम्मेवारी स्वयम् सरकारको हो । पृष्ठभूमिमा भाषा वैज्ञानिकहरूको प्रवल भूमिका आवश्यक हुन्छ । राज्यको हित, फाइदा र सजिलाका लागि भाषा नीति बनाइन्छ । भाषा नीतिको कार्यान्वयनले समाजमा प्रत्यक्ष र सकारात्मक प्रभाव पार्नुपर्छ ।

भाषा नीतिका उद्देश्य :
देशमा भाषा प्रयोगको स्थितिका बारेमा जानकारी भएपछि मात्र तिनीहरूको विकास र संरक्षणका लागि केकस्ता नीति तर्जुमा गर्न सकिन्छ भन्ने कुराको लेखाजोखा गर्न सकिन्छ (गौतम र चौलागाईँ २०७०,पृः ४३२) ।

राष्ट्रका सबै भाषाहरूको संरक्षण, संवद्र्धन् र विकास गर्नु, सरकारी कामकाजको भाषा निर्धारण गर्र्नु, भाषासम्बन्धी अध्ययन गरी आवश्यक सिफारिस गर्न उपयुक्त र आधिकारिक निकायको व्यवस्था गर्नु, भाषा योजना निर्माणको आधार तय गर्नु, औपचारिक मञ्च र निकायमा प्रयोग गरिने भाषा सुनिश्चित गर्नु, शिक्षाको माध्यम भाषा निर्धारण गर्नु , राज्यको भाषिक विशेषतालाई न्यायपूर्ण ढङ्गले सम्बोधन गर्नु जस्ता उद्देश्यमा आधारित भई भाषा नीति तय गरिएको हुन्छ ।

राज्यको भाषिक नीतिलाई प्रभाव पार्ने तत्वहरू
थोमस रिसेन्टोले भाषा नीतिलाई प्रभाव पर्ने आधारभूत तत्वका रूपमा समाज तथा राजनीति, ज्ञानवाद र भाषिक रणनीति गरी तीन ओटा विषयलाई अघि सारेका छन् (पोखरेल २०७३) ।

(क) समाज तथा राजनीति
राष्ट्रव्यापी, विश्वव्यापी घटना प्रक्रियाहरू, राज्य बन्ने, राज्य टुक्रिने, युद्ध, शीतयुद्ध, आप्रवासन पूँजी तथा संचारको विश्वव्यापीकरण आदि सामाजिक तथा राजनीतिक कारणले भाषा नीतिलाई प्रभाव पारेको हुन्छ ।

(ख) ज्ञानवाद
भाषाको ज्ञानवादी तत्व मूलतः दर्शन र विज्ञानँग सम्बन्धित छ मानिसको चिन्तनयुक्त तथा जिज्ञासु विशेषताका कारण संसारमा नवीननवीन खोज र चिन्तनहरू हुँदै आएका छन् । खोज तथा चिन्तनले प्राप्त हुने नवीन निक्र्यौललाई विद्यमान भाषाले समेट्न नसक्दा त्यसलाई संवोधन गर्ने गरी भाषाको व्यवस्था हुनपुग्छ । यस्तो यथार्थलाई भाषा नीतिले बेवास्ता गर्न सक्दैन बरू संवोधन गर्नैपर्ने हुन्छ ।

(ग) रणनीतिक आधार
जनताको चेतना स्तर र राजनीतिक शक्ति सन्तुलन अनुसार राज्यको भाषिक नीति तय हुँदो रहेछ भन्ने उदाहरण नेपालकै भाषिक तथ्याङ्क र नीतिमा आएका उतार चढावमा पाइन्छ । पञ्चायतकालमा मूलतः २०२८ र २०३८ का जनगणनाका क्रममा भाषिक तथ्याङ्क लिदा क्रमशः १७ र १८ मात्र देखाइयो ।

पञ्चायतको एउटै भाषा एउटै भेषको सम्मिश्रणवादी रणनीति भाषाका सवालमा पनि हावी थियो । हाल पहिचान र समावेशिताका सन्दर्भमा समयसँगै जनतामा बढेको सुझबुझसँगै विगतमा अन्य भनेर एकै ठाउँमा थुपारिएका भाषाहरूलाई १२३ भाषामा पजुल्याउने काम भएको छ । यसरी हेर्दा आफ्नो शासनलाई जसो गर्दा सहज हुन्छ भाषा नीतिमा सरकारको सोही रणनीति झल्किने गरेको पाइन्छ ।

नेपालको बहुभाषिक स्थिति
भाषा जातिको परिचायक हो, पहिचान को मूलआधार हो । भाषा र भूमिको अन्त्य भयो भने पहिचानको पनि लगभग अन्त्य हुन्छ (तामाङ, २०६९, पृ.ग) भाषा अभिव्यक्तिका माध्यम शब्दहरू हुन् शब्द चयन आवश्यकता अनुसार गरिन्छ आफ्नो मातृभाषामा ती नभए कहिल्यै फिर्ता गर्नु नपर्ने सापट शब्द(Loan Word ) भनिने शब्दहरूको प्रयोग हुन्छ जस्तैः अङ्ग्रेजीको Bucket तथाLantern लाई नेपालीमा बाल्टिन र लाल्टिन भनिन्छ (गुरुङ सन् २०१७ पृ १२६ ) । यसरी हेर्दा मानिस आफ्नो भाव अभिव्यक्त गर्न भाषाको सहारा लिन्छ भाषा शब्दबाट अभिव्यक्त हुन्छ ।

विद्यमान शब्दहरूले भाव अभिव्यक्त नभए उसले छिमेकी भाषाबाट सापट लिन्छ वा नयाँ शब्दको निर्माण गर्छ भन्ने प्रस्ट हुन्छ । नेपालमा अहिलेसम्म भारोपेली, भोट चिनिया, आग्नेली, द्रविडेली र एकल परिवारको कुसुण्डा भाषा गरी पाँचवटा भाषा परिवारका भाषाहरू रहेको पाइन्छ (भण्डारी र पोख्रेल, २०७२, पृ. ६५० । यसमा वक्ता सङ्ख्याका हिसावले भारोपेली भाषा बोल्ने वक्ता सबैभन्दा बढी छन् भने भोट चिनीया परिवारको भाषा सङ्रख्या सबै भन्दा धेरै छ ।

भाषिक सर्वेक्षणकै उद्देश्य राखेर वक्ताको गणना हालसम्म हुन सकेको छैन । जनगणनाका सिलसिलामा सोधिएका भाषासम्बन्धी प्रश्नावलीका आधारमा प्राप्त तथ्याङ्कलाई नै प्रमुख स्रोत मान्नु पर्ने स्थिति छ ।

हरेक जनगणनाका प्रतिवेदनमा भाषा सङ्ख्या सम्बन्धि देखिने गरेकोे उत्तारचढाव हेर्दा पनि तथ्याङ्कको विश्वसनीयता माथि उठाइएका प्रश्नहरूलाई पनि बल पु¥याएको छ । यद्यपि, नेपाल बहुभाषिक देश भएको यथार्थ सामाजिक रूपमा स्वीकार्य छँदै थियो हाल आएर राज्यले आफ्नो मूल कानुन संविधानमा समेत स्वीकार गरिसकेको छ ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ -पृ.१० । भने भाग एक धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ -पृ.२० ।

यसैगरी भाग ३ मौलिक हक अन्तर्गत धारा १८ मा समानताको हक उल्लेख गरिएको छ :यसको उपधारा ३ मा राज्यले नागरिकका वीच उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग शारीरिक अवस्था, भाषा वा क्षेत्र, आदिका आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट उल्लेख गरेको छ ।

माथिका संवैधानिक व्यवस्थाले र भाषिक यथार्थको चर्चाले स्पष्टहुन्छ नेपालमा भाषिक विविधता छ र सबै भाषाको समान महत्त्व छ । विद्यमान संवैधानिक भाषिक रूपमा अपूर्व न्याय सुनिश्चित गरेको छ ।
नेपालको भाषा नीति
नेपालमा राज्यको व्यवस्थित भाषा नीति निर्माणको इतिहास धेरै लामो छैन । पुराना ग्रन्थ अभिलेख सिला तथा ताम्र पत्रहरूमा प्रयुक्त भाषाका आधारमा त्यतिवेलाको राज्यद्वारा प्रोत्साहित भाषा बारे जानकारी लिन सकिन्छ ।

लिच्छवीहरू संस्कृतलाई राजभाषा मान्दथे, मल्लकालमा संस्कृत र मैथिली भाषाले समान महत्व पाएको थियो, बारौँ शताब्दीताका पश्चिम नेपालमा नेपाली र काठमाडौँमा नेवारी भाषा प्रचलनमा थियो पाल्पादेखि टिस्टासम्मका सेनवंशी राजाहरू मैथिली भाषा प्रयोग व्यवहार गर्थे भन्ने अभिलेखका आधारमा जानकारी पाइन्छ (पोख्रेल पृः २४० ।

आधुनिक नेपालको निर्माण सँगै नेपाली भाषाले साझा सम्पर्क र सरकारी कामकाजको भाषाको रूपमा मान्यता पायो । २००७ सालको क्रान्तिपछि भाषा सम्बन्धी बाहिरी विद्धानहरूका मत सुनिन थालिए ।

राज्यमा बोलिने सबै भाषाले मान्यता पाउनु पर्छ भन्ने राहुल सांस्कृत्यायनका सुझाव पनि पढिए । संविधानले भाषिक पक्ष समेटेको भने नेपालको संविधान २०१५ देखि हो । यसमा नेपालको राष्ट्रभाषा नेपाली हो भन्ने उल्लेख छ । पञ्चायतद्वारा जारी संविधान २०१९ मा नेपाली नागरिकता लिन नेपाली भाषा जान्नु पर्ने प्रावधान राखिएको पाइन्छ । यसले राज्यको एकभाषिक नीतिलाई पुष्टि गर्दछ ।

२०४६ को जनान्दोलनको उपलब्धी स्वरूप प्राप्त, नेपाल अधिराज्यको संविधान २०४७ ले नेपाल बहुभाषिक देश हो भन्ने यथार्थ स्वीकार गरेको छ । उक्त संविधानले नेपाली भाषा नेपालको राष्ट्रभाषा हुने स्पष्ट किटान गरी नेपालमा बोलिने अन्य सबै भाषालाई राष्ट्रिय भाषाको दर्जा दिएको थियो ।

नेपालको अन्तरिम संविधानले नेपालमा बोलिने सबै भाषाहरूलाई राष्ट्रभाषा हुन भन्दै सम्पूर्ण भाषालाई समान महत्व दिने नीति अख्तियार गरेको थियो । नेपालको संविधान २०७२ ले पनि सोही व्यवस्थालाई निरन्तरता दिएको छ ।

२०७२ को संवैधानिक व्यवस्था अनुरूप देश सङ्घीय र प्रादेशिक संरचनामा गएको छ । प्रादेशिक भाषिक विशेषता र आवश्यकता अनुरूप प्रदेश सरकारले लिने भाषिक नीतिका सन्दर्भमा र नयाँ संरचना अनुरूप राज्यले अपनाउनु पर्ने भाषिक नीतिका सम्बन्धमा भाषा आयोगको सिफारिस अनुरूप हुने संवैधानिक व्यवस्था छ सोअनुरूप हाल आयोग क्रियाशील छ ।
भाषा योजना
राज्यको भाषासम्बन्धी नीतिको अधिनमा रही विद्यमान भाषाको भूमिका अनुरूप प्रवद्र्धन गर्न तयार पारिएको कार्य योजना वा कार्यक्रम नै भाषा योजना हो । अधिकारी (२०६५)

भाषा योजना भनेको भाषाको विकास संरक्षण तथा संवद्र्धनका लागि संस्थागत वा सरकारी स्तरबाट भएको आधिकारिक वा दीर्घकालीन प्रयास हो भन्दछन् पृः ४८० । त्यस्तै पौडेल(२०७४) ले कुनै पनि राष्ट्र वा समाज त्यसमा पनि बहुभाषिक राष्ट्र र समाजको भाषा सम्बन्धी समस्याहरूको समाधान गरी राष्ट्रिय, स्थानीय, सामाजिक र सांस्कृतिक भाषा निर्धारण तथा स्तरोन्नयन गर्ने आधिकारिक र दीर्घकालीन प्रयासलाई नै भाषा योजना भनिन्छ भनेका छन् (पृः ६१० । पोखरेल (२०७४)

भाषा नीतिमा संवोधन भएका कामलाई व्यवहारिक रूपले राज्यमा लागु गर्नु पर्दा राज्यले बनाएका पूर्वाधारको अध्ययन, प्राकृतिक र मानवीय स्रोत साधनको लगत बटुल्ने काम र त्यसको अध्ययन, कार्यक्रम र कार्यान्वयनका तरिका, चरण विभाजन र कार्यान्वयनको मूल्याङ्कन तथा अनुगमन आदि काम भाषा योजना भित्र पर्छन् भन्दछिन् (पृ : ३८) ।

यसरी हेर्दा राज्यले अपनाएको भाषिक नीति अनुरूप भाषाको स्थान निरूपण गरी आवश्यकता अनुसार भाषाको विकास वा वेवास्ता के गर्ने हो, उद्देश्य सुनिश्चित गरी तयार पारिने कार्यक्रम नै भाषा योजना हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

भाषा योजनाका प्रकार
फासोल्डले भाषा योजनालाई दुई प्रकारका हुन्छन् भनी चर्चा गरेका छन् (पोखरेल २०७४) ।

अ. कार्यमूलक भाषा योजना
सक्षम भाषा खुट्याए पछि त्यसको लेख्यीकरण तथा मानकीकरणको उद्देश्य सहित कार्यान्वयनका लागि बनाइने योजना कार्यमूलक भाषा योजना हो ।

आ. समाज भाषा बैज्ञानिक भाषा योजना
वक्ता संख्या जतिसुकै होस देशभित्र बोलिने सबै भाषाहरू समान हुन् सबै अवधारणा राखेर बनाइएको योजना समाज भाषावैज्ञानिक भाषा योजना हो (पोखरेल, पृः३८) ।

भाषा योजनाका उद्देश्यहरू
भाषा योजना किन ? भन्ने प्रश्नको जवाफमा यादव जे.ए. फिसम्यानले अघि सारेका बुदालाई आघि सार्दछन्:

(क) एकता
जातीय तथा भाषिक पक्ष मानिसमा अत्यन्त संवेदनशील ढङ्गले गाँसिएका हुन्छन् । राज्यको भाषा नीति र योजनाको आफ्नो भाषा उपेक्षामा परेको आभाष हुँदा त्यसले भाषिक दुराग्रह पैदा गर्छ सँगै त्यस परिस्थितिले सामाजिक तथा राष्ट्रिय एकतामा प्रतिकूल परिस्थिति पैदा गर्छ ।

तसर्थ सवै भाषा समान् होऊन् र सबै भाषा महान बनुन् भन्ने उद्देश्य राखेर सबै भाषाको संरक्षण संवद्र्धन र विस्तारको योजना बनाउने हो भने भाषाभाषिमा आत्मसम्मान जागृत हुन्छ त्यसैले भाषिक योजना तर्जुमा गर्दा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षलाई हृदयङ्गम गरी उद्देश्य चयन गरिनु पर्दछ ।

(ख) आधुनिकीकरण
समाजमा दैनिक कामकाजका लागि प्रयोग गरिने भाषाका सम्बन्धमा एक किसिमको घोषित वा अघोषित सम्झौत हुन्छ एक समयमा प्रयुक्त भाषा समयको माग अनुरूप अद्यावधिक पनि गर्दै लैजानु पर्ने हून्छ । ज्ञान विज्ञान दर्शन तथा चिन्तनको विकास सँगसँगै समग्र नवीन वस्तु तथ्य तथा भावलाई समेट्न भाषालाई अद्यावधिक र आधुनीकृत गर्दै लैजाने उद्देश्य भाषा योजनामा निहित हुनुपर्छ ।

(ग) कुशलता
भाषा बोध र अभिव्यक्तिको प्रभावशाली माध्यम हो, वक्तामा भाषिक सामथ्र्य सम्पादनात्मक÷सम्प्रेषणात्मक सामथ्र्य रहन सकेमा मात्र बोध तथा अभिव्यक्तिका लागि भाषाले प्रभावपूर्ण भूमिका खेल्न सक्छ तसर्थ भाषिक सामथ्र्य आर्जन गरी प्रसङ्ग परिस्थिति अनुरूप कुशलता पूर्वक भाषिक सम्प्रेषण तथा सम्पादनमा भाषा प्रयोग कर्तालार्र्ई सक्षम तुल्याउनु भाषा योजनाको उद्देश्य हुनुपर्दछ ।

घ. लोकतान्त्रिकीकरण
राज्यले भाषिक नीति तथा योजना बनाउदा राष्ट्रियता र लोकतन्त्रको पक्षलाई पनि हेक्का राख्नु पर्छ । देशको भाषिक यथार्थ भन्दा फरक तथ्याङ्क आउन सक्ने सम्भावना प्रति चनाखो हुदै त्यसलाई न्युनीकरणमा सचेत हुनु पर्छ सामाजिक सद्भाव र राष्ट्रिय एकता साथै लोकतान्त्रिक वातावरणमा प्रतिकुल असर नपर्ने गरी वा लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउने उद्देश्य राखेर भाषा योजना तर्जुमा गर्नु पर्छ ।

नेपालको भाषा नीति तथा योजनाका चुनौतिहरू
विकासशील देशहरूमा प्रचलित भाषाहरूका भेदहरू धेरै हुन्छन् यस्ता धेरै भेदहरूमध्ये एउटा भेद छानी साझा प्रयोगमा ल्याउनु पर्ने हुन्छ । यस्तो स्थितिमा कुन भेद के आधारमा छनोट गर्ने भन्ने समस्या खडा हुनु पग्दछ । भाषाको स्तरीय रूप विकास गर्न भाषाको मानकीकरण प्रक्रियालाई योजनाबद्ध ढङ्गले अघि बढाउनु पर्ने चुनौति आइपर्दछ ।

नेपालजस्ता विकासशील देशमा बोलिने भाषाहरूमा आधुनिक ज्ञानविज्ञान चिन्तनबाट विकसित सन्दर्भ तथ्य र भावलाई संबोधन गर्ने सामथ्र्य सीमित हुन्छ यस्तो अवस्थामा भाषालाई परम्परागत भावना को सम्प्रेषणमा सीमित राखुनु हुँदैन यसको लागि भाषामा नविन शब्द स्वीकार गरी आधुनिकीकरणको प्रक्रियामा लैजानुपर्ने चुनौति खडा हुनु पुग्छ ।

बहुभाषिक देशमा बहुभाषिकता वक्ताको पहिचान र सामाजिक सम्पदाको रूपमा जिवित राखिनु आवश्यक हुन्छ । यद्यपि अन्तरभाषिक सम्पर्कका निम्ति छुट्टै साझा सम्पर्क भाषा अपरिहार्य हुन्छ । कालान्तरमा सम्पर्क भाषा नै हावी भई मातृभाषाहरू अफ्ठेरोमा पर्ने परिस्थिति पैदा हुन सक्छ ।

तसर्थ भाषा नीति तथा योजना निर्माताहरूलाई देशमा रहेका विभिन्न भाषाभाषिका बीच आपसी समझदारी बनाउदै राष्ट्रियता अभिवृद्धि गराउने गरी साझा माध्यम भाषा विकसित गर्न ध्यान पु¥याउनु पर्ने चुनौति आइपर्छ ।

भाषा योजना सामाजिक प्रकृतिको योजना हो । तसर्थ यो आर्थिक योजना जस्तो तोकिएको समयमा प्रतिफल दिइहाल्ने खालको हुँदैन यसो हुँदा यो सामाजिक र सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि अपरिहार्य छ भनी राज्य पक्षलाई बझाउनु पर्ने चुनौति खडा हुन पुग्दछ ।

तथ्याङ्कले देखाएको भाषिक अवस्थिति अनुरूप भाषिक नीति तय गरी भाषा योजना निर्माण गर्नु पर्ने हो, तर तथ्याङ्क संकलनका क्रममा अपनाइएको अपरिपक्व प्रक्रियाले तथ्याङ्कको अपेक्षा हुँदाहुँदै मिथ्याङ्क प्राप्त हुन पुुग्नाले भाषा योजनाकै प्रयोजनका लागि भाषिक गणना गर्नुपर्ने चुनौति खडा भएको देखिन्छ ।

निष्कर्ष
नेपालमा फरक फरक गुण तथा विशेषता भएका जातिगत तथा भाषागत समूहहरू छन्, २०६८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क अनुसार १२५ जाति र १२३ मातृभाषी समूह रहेको उल्लेख छ ।

कतिले यो भाषिक विविधताको स्थितिलाई समस्याको रूपमा चित्रण गरेको पाइन्छ भने कतिले यसलाई अवसरको रूपमा लिनुपर्छ भन्ने धारणा व्यक्त गरेको पाइन्छ । कतिले समाजमा द्विभाषिक वा बहुभाषिक स्थिति देखिनुलाई समस्याका रूपमा व्याया गरे भने कतिपय विद्वानहरूले यसलाई स्वाभाविक सामाजिक यथार्थका रूपमा लिएका छन् ।

भाषामा भौगोलिक सामाजिक, लैङ्गिक आर्थिक उमेरगत परिवेशगत तथा प्रयोगगत रूपमा विविधता सिर्जना हुन्छ । यस्तो विविधता एउटै वा विभिन्न भाषामा पनि हुन सक्छ ।

जाति तथा भाषाका आधारमा प्रत्येक समूहका आफ्ना सामाजिक सांस्कृतिक भाषिक र अन्य प्रचलित विशेषताहरू रहेका हुन्छन्, यस्ता विशेषता सुरक्षित राख्न सर्वप्रथम भाषाकै सुरक्षा अपरिहार्य हून्छ । माचर र वेण्डेले प्रत्येक दुई हप्तामा विश्वबाट एउटा भाषा लोप हुन्छ भन्ने तर्क अघि सारेका छन् ।

भाषा लोप हुनु भनेको अलिखित साहित्य भित्रको जातीय गौरव, परम्परा, अस्तित्व र सांस्कृतिक गरिमा पनि लोप हुनु हो । यसरी राज्यको भाषिक अवस्थिति अनुरूप भाषा सम्बन्धी राज्यले लिने भाषा नीति तथा योजनाले प्रमुख भूमिका खेल्दछ ।
नेपालको भाषा नीति तथा योजनाका चुनौतिहरू पनि छन् ।

भाषाहरूका भेदहरू धेरै हुन्छन् यस्ता धेरै भेदहरूमध्ये एउटा भेद के आधारमा छनोट गर्ने भन्ने समस्या खडा हुनु पुग्दछ । यतिबेला भाषाको स्तरीय रूप विकास गर्न भाषाको मानकीकरण प्रक्रियालाई योजना बद्ध ढंगले अघि बढाउनु पर्ने चुनौति आइ पर्दछ ।

भाषालाई परम्परागत भावना को सम्प्रेषणमा सीमित राख्नु हुँदैन यसको लागि भाषामा नवीन शब्द स्वीकार गरी आधुनिकीकरणको प्रक्रियामा लैजानुपर्ने चुनौति खडा हुनु पुग्छ ।

भाषा नीति तथा योजना निर्माताहरूलाई देशमा रहेका विभिन्न भाषाभाषिका बीच आपसी समझदारी बनाउदै राष्ट्रियता अभिवृद्धि गराउने गरी साझा माध्यम भाषा विकसित गर्न ध्यान पु¥याउनु पर्ने चुनौति आइपर्छ ।

भाषा सामाजिक र सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि अपरिहार्य छ भनी राज्य पक्षलाई बझाउनु पर्ने चुनौति खडा हुन पुग्दछ । भाषा योजनाकै प्रयोजनका लागि भाषिक गणना गर्नुपर्ने चुनौति खडा भएको देखिन्छ ।

सन्दर्भ सामग्री

– अधिकारी, हेमाङ्गराज (२०६५) सामाजिक र प्रायोगिक भाषाविज्ञान, काठमाडौँः रत्न पुस्तक भण्डार ।

– गिरी, जीवेन्द्रदेव (२०६९) भाषा र नेपाली भाषा, काठमाडौँ : पाठ्य सामग्री पसल ।

– गुरुङ, हर्क (सन् २०१७) विषयविविध, काठमाडौँ : हिमालकिताब ।

– गेज, फेडरिक एच., (सन् २०१३) नेपालमा क्षेत्रीयता र राष्ट्रियता अनु.मोहन मैनाली, काठमाडौँ : हिमाल किताव ।

– गौतम, देवीप्रसाद र चौलागाई, प्रेमप्रसाद (२०७०) भाषाविज्ञान, काठमाडौं : पाठ्रयसामग्री प्रकाशन ।

– तामाङ, अमृत योञ्जन (२०६९) बहुभाषिक शिक्षाका कुरा, जापान : तामाङ समाज जापान टोकियो ।

– पोखरेल, केशवराज र काफ्ले उमेश (२०७४) प्रायोगिक भाषाविज्ञान, काठमाडौँ : क्याम्व्रिज पब्लिकेशन प्रा.लि.

– पोखरेल, माधवप्रसाद (२०७३) नेपालको भाषिक स्थिति, सोलुखुम्बु २०७३ भदौ २४–२५ मा आयोजित भाषा गोष्ठीमा प्रस्तुत कार्यपत्र ।

– पोखरेल, शैलजा (२०७४) नेपाली भाषाको सामाजिक इतिहास, (जगदम्वा नेपाली साहित्यको वृहत् इतिहास, भाषा व्याकरण अभिलेख, प्रं.स. माधवप्रसाद पोख्रेल काठमाडौँ जगदम्बा प्रकाशन,

– पौडेल, माधवप्रसाद (२०७४) प्रायोगिक भाषाविज्ञान, काठमाडौंः विद्यार्थी प्रकाशन प्रा.ली. ।

-रिमाल, डिल्लीराम (२०७१), सामुदायिक विद्यालयका प्राथमिक तहका भाषिक विविधताको सम्बोधनस काठमाडौँ : अप्रकाशित विद्यावारिधी शोध प्रबन्ध त्रि.वि. कीर्तिपुर ।

– यादव योगेन्द्र प्रसाद ९२०७४० अवको नेपाल सम्भावना र कार्यदिशा (सं. योगेश ढकाल र कृष्ण गिरी) काठमाडौँ :शिक्षा बुक्स।

संरचनात्मक प्रकार्यवाद र शिक्षा

पृष्ठभूमि
प्रकार्यवादको सन्दर्भ सम्झनासाथ सँगै सामाजिक संरचनाको पक्ष जोडिएर आउँछ । कुनै पनि वस्तुको इतिहास जानेर बुझेर मात्र त्यस विधिको कार्यविधि बुझ्न सकिदैन । कुनै पनि कार्यविधि तत्कालको संरचनाबाट प्रभावित भएकै हुन्छ । संरचनालाई अनदेखा गरेर प्रकार्यको चर्चा गर्दा सही निष्कर्षमा पुग्न कठीन हुने भएकाले यहाँ प्रकार्यवाद र संरचनात्मक प्रकार्यवादको छोटो पृष्ठभूमि केलाई पछि दुवैलाई समानार्थी पदावलीकै रूपमा प्रयोग गरिएको छ ।

समाज र सामाजिक सम्बन्धहरूको अध्ययन गर्नका लागि संरचना र प्रकार्य शब्दहरू एकै साथ प्रयोगमा आउने भए तापनि यिनीहरूले बेग्लावेग्लै अर्थहरू बोकेका छन् । संरचना र प्रकार्य शब्दहरू आफँैमा अन्तरसम्बन्धित छन् जसमा एकलाई बेवास्ता गरेर अर्काको अध्ययन अघि बढाउनै सकिदैन । संरचना भन्नाले कुनै चिजको विभिन्न भागहरू मिलेर बनेको निश्चित किसिमको समग्रता हो ।

जबसम्म त्यसका भागहरू क्रमशः एक अर्कामा मिल्दैनन् तबसम्म त्यहाँ संरचना बन्न सक्दैन त्यसैले संरचना हुनका लागि दुई कुराको आवश्यकता पर्दछ । एउटा विभिन्न भागहरूको मेल र अर्को कार्य गर्न सक्ने स्वरूप । अर्को तरिकाले भन्दा, कुनै पनि अर्थपूर्ण कार्य गर्न सक्ने भागहरूको समग्र स्वरूप नै संरचना हो । त्यसैले प्रकार्यको कुरा गर्दा संरचना पक्ष पनि सँगै आउने हुदा यहाँ संरचना र प्रकार्यको सँगसँगै चर्चा गरिएको छ ।

संरचनात्मक प्रकार्यवादको अर्थ तथा परिभाषा
संरचनात्मक प्रकार्यवादी सिद्धान्तअनुसार समाज विविध पक्षहरू वीच अन्तरनिर्भरतामा आधारित हुन्छ भन्ने विश्वास गरिन्छ । अर्याल र अधिकारी (२०६४) समाजका हरेक भाग एक आपसमा अन्तर्सम्बन्धित छन् । समाजको कुनै एक भागमा असर प¥यो भने त्यसले सबै क्षेत्रमा प्रभाव पार्दछ र समाजको चालचलन रीतिरिवाजले व्यक्तिको व्यवहार पनि प्रभावित हुन्छ भन्दछन् (पृः १६६) । समाजका सम्पूर्ण एकाइहरूले संरचनाको सम्पूर्णता अन्तर्गत, काम गर्दछन् र सबै एकाइहरूको प्रकार्यको समग्र स्वरूप संरचना हो भन्दै उपाध्याय, र अन्य (२०६७) भन्छन् :समाजका विभिन्न एकाइहरूका प्रकार्यको एकीकृत रूप नै संरचना हो । समाजका विभिन्न एकाइहरूले एकीकृत रूपमा काम गर्छन् र सम्पूर्ण एकाइहरूको कार्यात्मक एकताले नै एउटा संगठित समाजको निर्माण गर्छ (पृः६०) ।

यसरी विभिन्न एकाइहरूको सञ्जालको रूपमा रहेको समाज अस्तित्वमा रहनका लागि यससँग सम्बन्धित सम्पूर्ण एकाइहरूले केही न केही प्रकार्य गरिरहेका हुन्छन् । सामाजिक आवश्यकताको पूर्ति गर्न र समाजलाई एकतावद्ध बनाइराख्न सबै एकाइहरूले आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने स्पष्ट हुन्छ ।

प्रकार्यवादले समाजमा सन्तुलित अन्तरसम्बन्धमा जोड दिन्छ । सामाजिक, सांस्कृतिक प्रणालीका एकाइहरूका बीचको प्रकार्यात्मक अन्तर्सम्बन्ध द्वन्द्वप्रेरित नभई सहमति र समझदारीले प्रेरित हुन्छ भन्ने मान्यता यसले राख्दछ । समाज एउटा जिवित संयन्त्र भएकाले यसका सम्पूर्ण अङ्गहरूले प्रकार्य गरिरहनु पर्दछ । यसलाई जीवन्त राख्नको लागि समाजका विभिन्न एकाइहरूको प्रकार्य अनिवार्य हुन्छ । यसरी हेर्दा संरचनात्मक प्रकार्यवादलाई निम्नलिखित चार आधारहरूबाट चिनाउनु पर्नेमा धेरै विद्वानहरूमा मतैक्य देखिन्छ ।

क) अन्तर निर्भरता
समाजमा विभिन्न एकाइहरू रहन्छन् र ती एकापसमा अन्तरनिर्भर हुन्छन् । एक तत्वको प्रभाव अर्को तत्वमा हुन्छ । समग्र तत्वहरूको पारस्परिक अन्तर्निर्भरताको आधारमा सामाजिक संरचना जीवित रहन्छ । यस मान्यता अनुसार विभिन्न, विचार, धर्म, संस्कृति, सभ्यता, परम्परा, चाडपर्व, शिक्षा कानुन, जस्ता प्रकार्यगत पक्षहरूको समग्र मेलबाट सामाजिक संरचना बनेको हुन्छ । र यो सबैका बीचको अन्तर्सम्बन्ध नै एउटा प्रणाली हो ।
समाजका विभिन्न एकाइहरूका भिन्न भिन्नै मौलिक प्रकार्य हुन्छन् र ती सम्पूर्ण प्रकार्यको समष्टि संरचना हो । यसरी हेर्दा प्रकार्यलाई व्यष्टिमा र संरचनालाई समष्टिमा हेर्नुपर्ने हुन्छ ।

ख) सहमति र सहयोग
संरचनात्मक प्रकार्यवादका अनुसार समाजका विभिन्न एकाइहरू संस्कृति, परम्परा, शिक्षा, धर्म आर्थिक पक्ष आदिले आपसी सहमतिमै सहयोगात्मक भूमिका सहित कार्य गरिरहेका हुन्छन् । यिनीहरूका वीच सहमतिमा सन्तुलन बिग्रदा समाज चल्न सक्दैन तसर्थ समाजलाई निर्वाध सञ्चालन गर्न सन्तुलित सहमतिको अनिवार्यता हुन्छ । राम्रोसँग स्थापित सामाजिक संरचनाले समाजका आधारभूत आवश्यकताहरू परिपूर्ति गर्छन् र उक्त सामाजिक संरचनालाई निर्माण गर्न सम्बन्धित भागहरू सहमतिमा रहन्छन् (ढकाल र कोइराला २०६६) ।

ग) प्रकार्य
संरचनात्मक प्रकार्यवादका अनुसार समाजका प्रत्येक अङ्गहरूले कार्य गर्दछन् । समाजका सम्पूर्ण अङ्गहरूले गर्ने कार्यले नै समाजको आवश्यकता पूरा हुन्छ । परिवार तथा पदीय हैसियत आ–आफ्ना ठाउँमा क्रियाशील हुन्छन् । यसरी प्रकार्यले नै समाजलाई अस्तित्वमा टिकाएको हुन्छ । यसले हरेक एकाइको क्रियाशीलताले नै समाजलाई व्यवस्थित बनाउछ भन्ने दृष्टिकोण राख्छ ।

घ) सन्तुलत
संरचनात्मक प्रकार्यवादी मान्यता अनुसार समाज वा सिङ्गो सामाजिक प्रणाली सँधै सन्तुलनमा रहन्छ । समाजका वर्ग परिवार पदासिन वा क्रियाशील हरेक मान्छेको ध्यान समाजमा सन्तुलन राख्ने कुरामा केन्द्रित हुन्छ । समाजमा कसरी सन्तुलन कायम भएको छ भनेर व्याख्या र विश्लेषण गर्नु नै प्रकार्यवादीहरूको कार्य हो, समाजमा सकारात्मक वा समाज अपेक्षित कार्य नै हुनु पर्छ कहिलेकाही नकारात्मक प्रकार्यका कारण सामाजिक सन्तुलनमा बाधा उत्पन्न हुन पुगे पनि, स्वतः स्फूर्त रूपमा पुनः सन्तुलन कायम हुन्छ । अधिकारी (२०६३) भन्छन् : प्रकार्यवादी दृष्टिकोणले द्वन्द्वलाई बेवास्ता गरेको छ ।

ऐतिहासिक पृष्ठभूमि र विकास प्रक्रिया
संरचनात्मक प्रकार्यवाद भनेको प्रकार्यवाद र संरचनावादको यौगिक रूप हो, अझ यसलाई अर्को शब्दमा भन्दा समाजको अनेक प्रकार्यहरूको संरचित र सिङ्गो रूप संरचना हो र प्रकार्यलाई संरचनाको सापेक्षतामा हेर्ने दृष्टिकोण वा सिद्धान्त संरचनात्मक प्रकार्यवाद हो ।

कुनै पनि वस्तुको इतिहास जानेर बुझेर मात्र त्यसवस्तुको कार्यविधि बारेमा बुझ्न सकिदैन । कुनै वस्तुको कार्यविधि बुझ्नका लागि त्यस वस्तुको संरचनाका अङ्गहरू एक आपसमा कसरी कार्य गर्दछन भन्ने बुझ्नु पर्छ भन्ने दृष्टिकोण राखेर संरचनात्मक प्रकार्यवाद जन्माइएको देखिन्छ । ढकाल र कोइराला (२०६६) यस सिद्धान्ताको विकास अगस्ते कम्तेको Organism बाट भएको हो भन्दछन् । यस सिद्धान्तलाई विकास गर्नमा समाजशास्त्री हर्वट स्पेन्सर, इमाइल दुर्खिम, रेडक्लिफ ब्राउन, मलिनोब्स्की, मर्टन जस्ता विद्धानहरूको महत्वपूर्ण योगदान रहेको छ ।

समाज एउटा चिज वा वस्तुको नाम होइन । बरु यो त सामाजिक सम्बन्धको एउटा जटील जालोे हो । संरचनात्मक प्रकार्यवाद नयाँ घटना जस्तो देखिए पनि कम्ते, दुर्खिम, स्पेन्सरजस्ता समाजशास्त्रीहरूले विचारका रूपमा यसलाई अगाडि सार्ने काम १९ औँ शताब्दीमै गरेका थिए तर तिनलाई व्यापक सैद्धान्तिक दृष्टिकोणका रूपमा प्रचारित गर्न सकिएको थिएन (पृः १२५) ।

एउटा सैद्धान्तिक अवधारणाको रूपमा संरचनात्मक प्रकार्यवादको विकासमा दुर्खिम स्पेन्सर, मेलिनोब्स्की, रेडक्लिफ ब्राउन् , पार्सन, मर्टनका योगदान महत्वपूर्ण छन् । यी वाहेक क्लाउट लेभ, एडमण्ड लेक, स्मउल पो हटिङ्टन आदि विद्वानहरूले पनि यसको विकासमा योगदान गरेका छन् (पृ. ४४) । अधिकारी (२०६५) का अनुसार ः समाज र संस्कृतिको व्याख्या विश्लेषण गर्ने सन्दर्भमा खास गरी हर्वड स्पेन्सरले डार्विनको प्राणी उद्विकासको नियमबाट प्रभावित भएर सामाजिक उद्विकासवादी सिद्धान्तको विकास गराए पश्चात नै सामाजिक घटना र परिस्थितिको अध्ययन गर्ने सन्दर्भमा प्रकार्यात्मक दृष्टिकोणको विकास हुन पुगेको पाइन्छ (पृः४७) । डार्विनको मानव उद्विकासको नियम समाजसमक्ष आएपछि समाज र संस्कृतिलाई पनि नयाँ ढङ्गले विश्लेषण गर्ने चलनको विकास भयो । समाज विकासको प्रक्रियालाई आध्यात्मिक र पौराणिक विश्लेषण गर्ने नयाँ मानव प्रतिमानमा त्यसपछि देखि नै सामाजिक गठनको नियमलाई वैज्ञानिक आधारमा बुझ्नुपर्छ भन्ने मान्यताको विकास भयो । यसले पुरानो वैचारिक दृष्टिकोणमा परिवर्तन ल्यायो । सामाजिक व्यवस्था कसरी चलेको छ ? के कस्ता पक्षहरू संलग्न छन् ? तिनीहरू बीचको कार्यकायरण सम्बन्ध केकस्तो छ ? भन्ने बारेको वैज्ञानिक अध्ययन गर्ने सन्दर्भमा संरचनात्कमक प्रकार्यवाद विकास भएको सहजै अनुमान लगाउन सकिन्छ ।

यसको विकासमा वौद्धिक समुदायको अध्ययन चिन्तनको ठूलो भूमिका रह्यो । इमाइल दुर्खिमले घटनाको कार्यकारण सम्बन्ध (cause effect relationship) मा जोड दिए यसका निम्ति सामाजिक गठनको नियम बुझ्नु अनिवार्य थियो । मेलिनोब्स्कि तथा ब्राउनले समाज र संस्कृतिको अध्ययनमा जोड दिए । हर्वट स्पेन्सरले प्रकार्य र विकासलाई बुझ्न, प्रकार्यात्मक गठनको नियम बुझ्नु पर्ने तर्क अगाडि, सारे । यसरी हेर्दा संरचनात्मक प्रकार्यवादको विकासको निम्ति विभिन्न अध्यता र चिन्तकका बौद्धिक प्रयासहरूको निकै ठूलो भूमिका रहेको तथ्य बुझ्न सकिन्छ ।यसका अतिरिक्त समाजमा घट्ने समसामयिक घटनाले पनि प्रकार्यलाइ प्रभावित गर्दै आएको कुरा स्वीकार गरिएको पाइन्छ ।

फ्रान्सेली स्वतन्त्रता सङ्ग्राम तथा युरोपेली पुनर्जागरण पछि त्यसबाट प्रभावित समाजको अध्ययन अनुसन्धान गर्न विशेष अभिरुची दिइयो । त्यस्तै प्रथम र द्वितीय विश्वयुद्ध पछाडि समाजको पुनरुत्थानका लागि समाजको प्रकार्यात्मक भूमिकाको थप अध्ययनको आवश्यकता भयो । सामाजिक प्रक्रिया, सामाजिक व्यवस्थाको गठन, एकीकरण प्रकार्यात्मक सम्बन्ध जस्ता पक्षहरूको विश्लेषण साथै समाज र संस्कृतिको विश्लेषण गर्ने सन्दर्भमा नयाँ दृष्टिकोण अपरिहार्य भएकै समयमा संरचनात्मक प्रकार्यवादी अध्ययनको क्रम अगाडि बढेको पाइन्छ । यसैगरी अघिल्ला सिद्धान्तहरूमा वैज्ञानिक धरातल कमजोर हुँदै गएको, प्रकार्यात्मक अध्ययनलाई जोड नदिइएका,घटनाको कार्यकारण सम्बन्ध बुझ्न प्रयत्न नगरिएको आदि आरोप खेपिएकै बेला यस्ता प्रकार्यवादी अध्ययन प्रारम्भ भई विकसित भएको देखिन्छ ।
यसरी हेर्दा संरचनात्मक प्रकार्यवादको विकासमा सामाजिक सांस्कृतिक व्याख्याको नियम, बौद्धिक चिन्तकहरूको अध्ययन विश्लेषण बहस, समकालीन परिघटना र पूर्वमान्यताप्रति अपूर्णता बोध जस्ता पक्षले ठूलो भूमिका लेखेको कुरा स्पष्ट हुन्छ ।

संरचनात्मक प्रकार्यवादको शक्ति र सीमा
शक्ति
संरचनात्मक प्रकार्यवादले समाज र प्रणाली बीचमा सापेक्ष सम्बन्ध रहन्छ, भन्ने दृष्टिकोण राख्छ । समाज र प्रणालीको समरूपताले नै संरचनाको अवधारणालाई जाहेर गर्छ तसर्थ समाज भनेको एकाइहरूको समग्र सम्बन्धको प्रणाली हो । शरीरका समस्त अङ्गहरूझैँ समाजका अङ्ग प्रकार्यरत हुन्छन र एक अङ्गको अकार्य वा नकार्यको प्रभाव अन्य अङ्गका कार्यमा समेत पर्न जान्छ यसरी हेर्दा समाजका सबै अङ्गको सन्तुलित सहकार्यको अपेक्षा संरचनात्मक प्रकार्यवादले गर्छ । समाजका विविध पक्षको प्रकार्यात्मक भूमिकाले नै समाजको संरचनालाई जोगाउँछ । प्रकार्यसम्बन्धि यस बुझाइले समाजलाई एउटा स्वनिर्मित व्यवस्थित संरचना र त्यसअन्तर्गत सञ्चालित प्रकार्यबीचको मेलका रूपमा अथ्र्याउँछ । जसले समाजका हरेक पक्षलाई परिभाषित भूमिका निर्वाह गर्न प्रेरित गर्दछ । यसलाई संरचनात्मक प्रकार्यवादको शक्तिका रूपमा लिन सकिन्छ ।

सीमा
संरचनात्मक प्रकार्यवादले समाजमा सन्तुलित सहकार्यको भूमिकाको अध्ययन गर्दै जाँदा द्वन्द्वात्मक पक्षको भने बेवास्ता गर्छ भन्दै यसको आलोचना पनि हुने गरेको छ । समाज स्थिर रूपमा चल्ने मान्यता अघि सार्दै समाजको द्वन्द्वात्मक गतिशीलताको यथार्थलाई अनदेखा गर्नु यस सिद्धान्तको कमजोरी ठान्ने गरेको पाइन्छ । समाजशास्त्रकै पर्यायका रूपमा प्रकार्यवादलाई अघि सारिएको र मूलतः यो दृष्टिकोण समाजको द्वन्द्वात्मक गतिशीलता वा भौतिकवाद विरोधी रहेको तर्क गर्दै किरण (२०६७) लेख्छन् समाजको ऐतिहासिक विकासको प्रक्रियालाई यसले उत्पीडक र उत्पीडित वर्गका बीचको सङ्घर्षका प्रक्रियाका रूपमा देख्न सक्दैन । यी दुई बीचको सङ्घर्षमा तटस्थ बन्न खोज्नुको असली अर्थ सामाजिक जीवनका क्षेत्रमा उत्पीडक र उत्पीडित वर्गवीचको सङ्घर्षमा तटस्थ बन्न खोज्नु हो (पृः२६८) ।
यसरी प्रकार्यवादी मान्यतालाई समाजको द्वन्द्वात्मक पक्षको बेवास्ता गरेको भनेर आलोचना हुने गरेको पाइन्छ । समाजको द्वन्द्वशक्तिलाई वेवास्ता गरेको भन्दै प्रकार्यवादले निहित रूपमा यथास्थितिवादलाई समर्थन गरेको र कर्ता भन्दा प्रणाली वा संरचनालाई महत्व दिएको भनी आलोचना भएपछि प्रकार्यवादी मान्यता रक्षात्मक बन्न पुगेको देखिन्छ ।

प्रकार्यवादको शैक्षिक प्रयोग
समाज सञ्चालनका लागि स्थापना भएको संरचनात्मक पद्धतिमा समाजका सबै पक्षहरूको कार्यको अध्ययन नै प्रकार्यवाद हो । शिक्षा पनि समाजका लागि नै हो व्यक्तिको सर्वाङ्गीण विकास गर्दै समाजमा समाहित हुनसक्ने बनाउनु शिक्षाको उद्देश्य हुन्छ भने समाजको संरचना अनुरूप सकारात्मक प्रकार्य सम्पादन गर्नशक्ने शैक्षिक जनशक्ति तयार पार्नु समाजको उद्देश्य हुन्छ ।
समाज जुन पद्धतिका आधारमा सञ्चालित हुन्छ त्यहाँ समानता, सन्तुलन र निष्पक्षता कायम रहेको विश्वास गरिन्छ । कुनै नयाँ प्रविधि, वातावरण, नयाँ घटनाक्रम तथा कुनै बाहिरी शक्तिले पुरानो मान्यतालाई नबिगारुन्जेल पुरानो पद्धति कायमै रहेको हुन्छ । शर्मा र शर्मा (२०६६) का अनुसार : कार्यवादी सिद्धान्त शिक्षाको समाजशास्त्रको पुरानो परम्परावादी पद्धतिमा आधारित सिद्धान्त हो । यस सिद्धान्तले १९४०-१९५० को दशकमा अमेरिकामा निकै ख्याति प्राप्त ग¥यो । आजसम्म शिक्षाको समाजशास्त्रको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि यस प्रकृतिको सिद्धान्तले मान्यता पाएको छ (पृ. २६३) ।
नेपालको सन्दर्भमा कुरा गर्दा नेपाली समाज विभिन्न संस्कृति, धर्म, भाषा र मानिसहरूको सम्मिश्रणको रूपमा रहेको छ । यसमा एकअर्का बीच कुनै प्रकारको अभिप्रायगत हस्तक्षेप रहेको देखिदैन ।

नेपालीहरू संस्कृति र भाषाको एकता र सम्मिश्रणको प्राकृतिक प्रक्रियामा आवद्ध भएका छन् । यदाकदा सांस्कृतिक भाषिक, तथा जातीय पहिचानका निम्ति सम्बन्धित समुदायमा उत्पन्न अभिव्यक्तिहरू हेर्दा वा सुन्दा सामाजिक संरचनामा बाधा उत्पन्न हुने हो कि जस्ता परिस्थिति देखिन खोजे पनि अन्ततः संरचनाको परिधिभित्रै समाधान निस्किएका प्रशस्त उदाहरणहरू छन् । जुन संरचनात्मक व्यवस्था अनुरूपकै शिक्षा प्रणाली हुनुको परिणाम हो । नेपाली मौलिकता, प्रकृति, धर्म, समाज, संस्कृति र यी पक्षवीच रहेको सहिष्णुता र हार्दिकता जोगाउँदै समाज सञ्चालन गर्ने प्रकार्यवाद र शिक्षाको घनिष्ट अन्तर्सम्बन्ध हुन्छ । ढकाल र कोइराला (२०६६) भन्छन् :संरचनात्मक प्रकार्यवादको मान्यता अनुसार समाज व्यवस्थाको निर्माण विभिन्न एकाइहरू मिलेर भएकोे हुन्छ, यी एकाइहरूले अन्तरनिर्भर भएर आआफ्नो कार्य गरिरहन्छन् । समाजलाई निरन्तर रूपमा गतिशील गराउन निश्चित नियम र मूल्यहरूको आवश्यकता पर्छ । समाज व्यवस्थाका तत्वहरू स्थिर र यसका कार्यहरू भने गतिशील मानिन्छन् (पृः१५०) । यसरी हेर्दा प्रकार्यवादी सिद्धान्त अनुसार अकार्य नकार्य (संरचना माथि नै प्रश्न उठाउने र धक्का पु¥याउने कार्य) लाई नियन्त्रण गर्दै समाजको विद्यमान संरचनामा नै प्रकार्य गर्ने परिस्थिति निर्माणमा शिक्षाको भूमिका हुनु पर्छ भन्ने प्रकार्यवादी सिद्धान्तको मूल मान्यता हो ।

निष्कर्ष
प्रकार्यवाद भन्ने वित्तिकै सामाजिक संरचनाको पक्ष पनि सँगै जोडिएर आउँछ । समाजमा धर्म, संस्कृति जाति पद, अर्थतत्वजस्ता अनेक पक्षहरू आपसमा मिलेर सिङ्गो सामाजिक संरचना निर्माण गरेको हुन्छ र सोही संरचनाको परिधिमा रहेर ती हरेक एकाइ तथा पक्षहरूले कार्य गरिरहेका हुन्छन् । प्रकार्यवादले समाजमा सन्तुलित अन्तरसम्बन्धमा जोड दिन्छ । समाज एउटा जिवित संयन्त्र भएकाले यसका सम्पूर्ण अङ्गहरूले आफ्नै ढङ्गले प्रकार्य गरिरहनु पर्छ यसलाई जीवन्त राख्नका लागि समाजमा विभिन्न एकाइहरूको प्रकार्य अनिवार्य हुन्छ ।

समाजका विभिन्न एकाइहरूबीच अन्तर्निर्भरता, सहमति र सहयोगका साथ प्रकार्य सञ्चालन हुन्छन् । प्रकार्य व्यवस्थित र सन्तुलित हुन्छन् जसले समाजको संरचनालाई कुनै हानी पु¥याउन सक्दैन । यदाकदा संरचनामा प्रकार्य (अकार्य÷नकार्य) ले वाधा सिर्जना गर्न खोजे पनि अन्ततः संरचनाको परिधिमै समेटिन बाध्य हुन्छ ।

संरचनात्मक प्रकार्यवाद समाजशास्त्रकै पर्यायवाचीका रूपमा प्रचलित थियो । अगस्ते कम्ते, इमाइल दुर्खिम, हर्वट स्पेन्सर जस्ता चिन्तक तथा विद्वानले प्रकार्यवादको स्थापना र विकासमा योगदान पु¥याएका हुन् । विभिन्न चिन्तकहरूका बौद्धिक चिन्तन, समाजमा घट्ने विभिन्न घटना तथा परिघटना र पुराना स्थापित सिद्धान्तको अधुरोपनको परिपुर्तिको प्रयास स्वरूप प्रकार्यवादी मान्यता विकसित हुँदै अगाडि बढेको पाइन्छ ।

समाज र प्रणालीको बीचमा सापेक्ष अन्तरसम्बन्ध हुन्छ भन्ने दृष्टिकोणका साथ समाजका सबै अङ्गको सन्तुलित सहकार्यको अपेक्षा संरचनात्मक प्रकार्यवादले राख्दछ । समाजमा हरेक पक्षको भूमिका समाजौरा नै परिभाषित हुन्छ र परिभाषित भूमिका अनुरूप नै प्रकार्य सञ्चालन हुन्छ भन्ने मान्यतालाई यसका शक्तिका रूपमा लिन सकिन्छ ।
सन्तुलित पक्षको सन्दर्भमा जोड दिदै गर्दा समाजका विभिन्न पक्षबीच उत्पन्न हुने द्वन्द्वका पक्षलाई विर्सनुलाई यसको सीमाका रूपमा लिइन्छ । समाजको ऐतिहासिक विकासको प्रक्रियालाई यसले उत्पीडित र उत्पीडक वर्गका बीचको सङ्घर्षका प्रक्रियाका रूपमा देख्न नसक्ने भएकाले यसलाई अव्यवहारिक सिद्धान्त भनी आलोचना हुने गरेको पाइन्छ ।

संरचनात्मक प्रकार्यवादी सिद्धान्त अनुरूप विद्यमान संरचनाकै सापेक्षतामा प्रकार्यलाई प्रेरित गर्ने । शिक्षा व्यवस्थाको अपेक्षा गर्दछ । समाजलाई निरन्तर सञ्चालन गर्न निश्चित नियम र मूल्यहरूको आवश्यकता पर्छ । समाज व्यवस्थाका तत्व स्थिर हुन्छन र कार्यहरू भने गतिशील हुन्छन् र प्रकार्यवादी सिद्धान्तअनुसार शिक्षा विद्यमान संरचना माथि कुनै वाधा सिर्जना नगरी विद्यमान संरचना भित्रै प्रकार्यात्मक सुधारको उद्देश्यमा केन्द्रित हुनु पर्छ भन्ने मान्यता राख्दछ ।

प्रकार्यवादले विद्यमान संरचनामाथि सन्तुलन मात्र खोज्ने तर समाजमा विद्यमान पक्षबीच हुनसक्ने द्वन्द्वका पक्षको वेवास्ता गर्ने हुनाले यथास्थितिवादी सिद्धान्तको रूपमा यसले चौतर्फी आलोचना खेप्नु परेको छ र यसले गर्दा यो सिद्धान्त रक्षात्मक हुन पुगेको छ । यद्यपि नेपालको सन्दर्भमा कुरा गर्दा बहु भाषा बहुजाति बहुसंस्कृति र आर्थिक सामाजिक अनेक विविधताका बीच सन्तुलित सम्बन्ध अपरिहार्य रहेकाले सामाजिक सम्बन्धको सन्तुलनका लागि यस सिद्धान्तले निर्देशित गरेको शिक्षा व्यवस्था आवश्यक छ भन्न सकिन्छ ।

सन्दर्भसूची
अर्याल, प्रेमनारायण र अधिकारी, बालकृष्ण (२०७४), शिक्षाका आधारहरु, काठमाडौँ : पिनाकल पब्लिकेशन ।

आचार्य, बलराम (२०६५), सामाजिक विश्लेषणको सैद्धान्तिक ढाँचा, काठमाडौँ :सनलाइट पब्लिकेशन ।

……….. (२०६८), समाजशास्त्र र मानव शास्त्रमा अनुसन्धान पद्धति तथा प्रतिवेदन लेखन, काठमाडौँ : नेसनल बुक सेन्टर ।

उपाध्याय, प्रकाश, सिग्देल, सूर्यझक्त र कँडेल भानुभक्त (२०६७), समाजशास्त्रका सैद्धान्तिक दृष्टिकोण, काठमाडौँ :दीक्षान्त प्रकाशन ।

उपाध्याय, प्रकाश र सिग्देल, सूर्यभक्त (२०७१), समाजशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरू, काठमाडौँ : क्षितिज प्रकाशन ।

गौतम, टीकाराम (२०५८), सामाजिक अनुसन्धान पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

नकर्मी, सुदीपसिंह र ओझा, नेत्रकुमार (२०७४), संरचनात्मक प्रकार्यात्मक दृष्टिकोण, काठमाडौँ :देउराली प्रकाशन प्रा.ली. ।

ढकाल, माधवप्रसाद र कोइराला मातृकाप्रसाद (२०६८), शिक्षाका आधारहरू काठमाडौँ :रत्न पुस्तक भण्डार ।

शर्मा, कमलराज (२०६७), समाजशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरू, काठमाडौँ :ग्लोबल पब्लिकेशन ।

शर्मा, चिरञ्जीवी र शर्मा निर्मला (२०६६), शिक्षाका आधारहरु काठमाडौँ : एमके पब्लिकेसन ।

किरण, मोहनबैध (२०६७), क्रान्ति र सिद्धान्त, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.ली. ।

अधिकारी, तोयानाथ (२०७३), शिक्षाका आधारहरु काठमाडौँ :एकेडेमिक बुक सेन्टर ।

Array