हेरम्बराज बास्तोला
हेरम्बराज बास्तोला
बिहानको घामले झ्यालको सिसामा हल्का स्पर्श गरिरहेको थियो। म नियमित दैनिकी लेखाइमा अभ्यस्त भइसकेको थिएँ किनभने कक्षामा मेरा विद्यार्थीहरूलाई पनि म दैनिकी लेखनको विधि सिकाइरहेको छु । तर, विद्यार्थीहरूले बुझ्ने गरी वास्तविक अर्थमा दैनिकी लेख्न अझै सिकाउन सकिरहेको छैन भन्ने कुराले केही दिनदेखि मलाई असहज बनाएको थियो ।
त्यसैबेला, बिहान राजु शर्माको फोन आयो । उनी मेरा अनन्य मित्र हुन्, साहित्यका कुशल हस्ताक्षर हुन् उनी । केही महिनादेखि भेट भएको थिएन तर फोनमा उनको स्वरमा पहिलेझैँ आत्मीयता थियो । उनले भने, "साथी, भेटौँ न, एक कप कफी खाँदै गफ गरौँ ।" म पनि सहमत भएँ। ११ बजे क्याम्पस छेउको कफी सपमा भेट्ने तय भयो ।
सहमति अनुसार हामी त्यहाँ पुग्यौँ । कुरै कुरामा म आफ्नो समस्या राख्न पुगें, "विद्यार्थीलाई दैनिकी लेख्न अह्राउदा उनीहरू केवल दिनभरिका कामहरूको सूची बनाउँछन् । मलाई चाहिएको भनेको अनुभव, विश्लेषण, र भावनात्मक अभिव्यक्तिले भरिएको दैनिकी हो, के गर्ने होला ?"
मेरो प्रश्न सुन्नासाथ राजु झल्यास्स केही सम्झिएजस्तो भए । उनले मुस्कुराउँदै भने, "ओहो, मैले हिजो लेखेको एउटा दैनिकी विशेष छ, सुन्छौ ?" "किन नसुन्नु! सुनाऊ न ।" म झनै उत्सुक भएँ।
उनले आफ्नो डायरी खोल्दै एक लामो आत्मपरक निबन्ध सुनाए । त्यो निबन्ध केवल दैनिकी मात्रै थिएन, यसभित्र प्रेम, आत्मीयता, विछोड र समयको गहिराइले भरिएको लामो कथा थियो । जुन यस्तो थियोे :
जीवन अनपेक्षित मोडहरूबाट गुज्रिने यात्रा हो, जहाँ हरेक घुम्तीमा नयाँ अनुभूति हुन्छ, नयाँ सन्दर्भहरू जन्मिन्छन् । मेरा बाल्यकालका दिनहरू सरल थिए, निर्दोष प्रेमले भरिएका थिए । मलाई लगभग मेरै उमेरकी एक बालसाथीले गहिरो प्रेम गर्थिन्, म पनि उनलाई उत्तिकै प्रेम गर्थें । हाम्रो प्रेम कुनै पूर्वनियोजित सम्बन्ध थिएन, न त कुनै बाध्यतामा आधारित नै थियो । त्यो नितान्त आत्मीय थियो, निस्वार्थ थियो, जसको आधार केवल विश्वास र स्नेह थियो । बिस्तारै हामीले भविष्यको बारेमा सोच्ने बेला आयो, जब हाम्रो किशोरावस्था परिपक्व हुदै गयो तब हामीले प्रेमलाई विवाहमा बदल्ने सङ्कल्प गर्यौं । हामी सँगै जिन्दगी बिताउने सपना देख्थ्यौं, एउटै घर बनाउने कल्पना गर्थ्यौं, सुख-दुःखमा एकअर्कासँगै रहने प्रण गर्थ्यौँ ।
समय सधैँ एकनास रहँदैन हाम्रो समय पनि सधैँ उस्तै रहेन । १२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न म राजधानी आएँ, उनी भने गाउँमै बसिन् र त्यहीँको क्याम्पसमा अध्ययन गरिन् । प्रविधि आजजस्तो सहज थिएन, संचारका माध्यमहरू सीमित थिए । हाम्रा बीच केही समयसम्म चिठी आदानप्रदान भयो, तर विस्तारै ती चिठीहरू कम हुँदै गए । समयको बहावसँगै हाम्रो सम्पर्क झन् कम हुदै गयो । उनी मलाई पर्खिरहेकी थिइन्, तर म नियमित रूपमा उनलाई सम्पर्क गर्न र समय दिन सकिरहेको थिइनँ । म आफ्नै अध्ययन, करियर र नयाँ परिवेशमा व्यस्त हुँदै गएँ, जसका कारण हाम्रो सम्बन्ध धुमिल हुँदै गयो ।
समय आफ्नो गतिमा अघि बढिरहेको थियो । केही समयसम्म त उनी मलाई कुरेरै बसिन्, तर मेरो तर्फबाट कुनै नियमित संवाद नभएपछि उनका परिवारले उनलाई विवाहको लागि बाध्य बनाए । उनीसँग कुनै स्पष्ट विकल्प थिएन, किनभने मसँग सम्पर्क पनि कमजोर भइसकेको थियो र म कहिलेसम्म फर्किन्छु भन्ने पनि निश्चित पनि थिएन । अन्ततः उनले आफ्नो परिवारको निर्णय स्वीकार गरिन् र विवाह गरिन् । उनको विवाहको खबर सुन्दा म केही समय गहिरो पीडामा डुबेँ, उनीसँग नियमित सम्पर्कमा रहेर विश्वास कायम राख्नुपर्ने कुरा ख्याल नगर्ने आफ्नो त्यो हुस्सुपनबाट केही समय पश्चातापमा पनि परेँ । मैले लामै समय शून्यता र खालीपन अनुभूत गरें । जिन्दगीका यस्ता मोडहरू कहिलेकाहीँ अत्यन्त कठोर लाग्दा रहेछन् तर समयसँगै अघि बढ्नुको विकल्प पनि त हुँदैन । म पनि सम्हालिदै अघि बढ्ने प्रयासमा लागेँ । क्याम्पसका दिनहरूमा एक अर्की युवतीसँग प्रेममा परें र उनीसँगै विवाह गरें । जिन्दगी आफ्नै गतिमा अघि बढ्यो, हाम्रो आ-आफ्नै संसार बन्यो ।
हाम्रो सम्पर्क पूरै विच्छेद भएको थियो । वर्षौँसम्म मैले उनलाई देखेको थिइनँ, न त कुनै जानकारी लिएको थिएँ । तर मनभित्र कतै गहिराइमा उनी सधैं बसिरहेकी थिइन् । कहिलेकाहीँ उनको सम्झना आउँथ्यो । ती पुराना दिनहरू, सँगै हाँसेका क्षणहरू र एक आपसमा साटेका सपनाहरू सम्झेर मन त्यसैत्यसै भारी हुन्थ्यो । जीवनका केही सम्बन्धहरू बिर्सन खोजेर पनि बिर्सन सकिँदैन । उनीसँग अब कुनै भेटघाटको सम्भावना थिएन, न त कुनै अपेक्षा नै थियो, तर पनि मनभित्र कतै उनको स्मृतिहरू गढेर बसेका थिए ।
सामाजिक सञ्जालको युग आएपछि मैले उनीबारे थाहा पाउने कोसिस गरें । धेरै वर्षसम्म उनले फेसबुक अकाउन्ट बनाएकी थिइनन्, त्यसैले खोजी गर्दा पनि केही पत्ता लाग्दैनथ्यो । समयक्रमसँगै उनले पनि फेसबुक चलाउन थालिछन् । एक दिन अचानक फेसबुकमा उनको फ्रेन्ड रिक्वेस्ट देख्दा म छक्क परेँ । त्यो क्षण मेरा लागि एक अनौठो अनुभूतिले भरिएको क्षण थियो । लगभग दुई दशक समयपछि बाल्यकालका यादहरू पुनः ताजा गराउने एउटा अप्रत्याशित अवसर । मैले बिना विलम्ब उनको अनुरोध स्वीकार गरें ।
हाम्रो संवाद फेरि सुरु भयो । तर यो संवाद कुनै गुनासोले भरिएको थिएन, न त कुनै पश्चात्तापको भावनाले ओतप्रोत थियो । हामीले केवल यथार्थलाई स्वीकार गर्यौं । समयले हामीलाई जति नै टाढा पुर्याए पनि आत्मीयता भने बाँकी नै थियो । उनी अहिले आफ्नै परिवारसँग खुसीले जीवन बिताइरहेकी थिइन्, म पनि मेरो परिवारसँग । हामीले जीवनका भिन्न-भिन्न बाटाहरू समातेका थियौँ, तर बाल्यकालका ती दिनहरू हाम्रो स्मृतिबाट कहिल्यै मेटिन सकेका थिएनन् ।
म उनलाई सामाजिक सञ्जालमा उनका पतिसँग खुसीसाथ बसेका तस्वीरहरू हेर्दा पनि हर्षित महसुस गर्छु । उनी रमाइरहेकी छिन् भन्ने देख्दा मलाई सन्तोष लाग्छ । हाम्रो प्रेम समयको अन्तरालमा परिपक्व भइसकेको थियो, अब त्यसमा कुनै व्यक्तिगत अपेक्षा थिएन । केवल आत्मीयता थियो, जसले एकअर्काको खुसीमा खुसी मनाउन सिकाएको थियो ।
उनका पति पनि मेरा साथी हुन् । उनलाई पनि मेरो र उनकी पत्नीबीचको बाल्यकालीन प्रेमबारे सबै जानकारी छ । पारदर्शिताले सम्बन्धलाई अझ विश्वासिलो बनाउँछ भन्ने कुरामा म विश्वास राख्छु । मेरी श्रीमतीलाई पनि विस्तृत रूपमा मेरो विगतका प्रेमकथा सुनाएको छु, जसले गर्दा हामीबीच कुनै शङ्काले अड्डा जमाउन पाएको छैन । जब म मेसेन्जरमा एक पुरानो साथी हैसियतमा उनीसँग कुरा गरिरहेको हुन्छु त्यसका लागि मलाई श्रीमतीसँग लुक्नुपर्ने आवश्यकता पर्दैन । यो विश्वासको वातावरणले हाम्रो वैवाहिक जीवनलाई अझ मजबुत बनाएको छ ।
आज उनको २२औं विवाह स्मृति दिवस रहेछ । यस अवसरमा उनलाई जीवनभर खुसी रहन सकुन् भन्ने शुभकामना दिन मन लाग्यो । जीवनले हाम्रा बाटाहरू फरक बनायो, तर आत्मीय सम्बन्धहरू कहिल्यै टुट्दैनन् । तिनको रूप बदलिन्छ, तर सार भने उस्तै रहन्छ । म उनलाई हृदयदेखि नै बधाई दिन चाहन्छु, उनको जीवन अझ आनन्दमयी रहोस्, स्नेहले भरिएको रहोस्, र प्रेमका रंगहरूले झन् उज्यालो बनोस् ।
जीवन सधैं सोचेअनुसार चल्दैन । हरेक मोडमा नयाँ चुनौतीहरू हुन्छन्, नयाँ वास्तविकतासँग जुध्नुपर्छ । कहिलेकाहीँ हाम्रा इच्छाहरू पूरा हुँदैनन्, तर तिनै अधूरा सपनाहरूले जीवनलाई गहिरो अर्थ दिन्छन् । मेरो बाल्यकालको प्रेम केवल एउटा अधूरो प्रेमको कथा मात्र होइन, यो प्रेम, मित्रता, विश्वास, र समयसँग परिपक्व बनेको आत्मीयताको कथा हो ।
आज म मेरो परिवारसँग खुसी छु, उनी पनि आफ्नो परिवारसँग सन्तुष्ट छिन् । समयले हामीलाई अलग बनायो, तर आत्मीयताले फेरि जोडिराख्यो । हामी एकअर्काका खुसीहरू नियालेर रमाउन सक्छौं, बिना कुनै अपेक्षा, बिना कुनै पश्चात्ताप । जीवनले मलाई सिकाएको एउटा गहिरो पाठ यही हो: साँचो प्रेम स्वार्थरहित हुन्छ र आत्मीयता कहिल्यै मरेर जाँदैन ।
राजुको यो कथा सुनेपछि म केही क्षण मौन बसें। त्यसपछि भनेँ, "यो कथा त सुन्दर छ, तर दैनिकी कसरी भयो?" उनले मुस्कुराउँदै भने, "मित्र, मानिस कहिल्यै केवल एक दिनमा बाँचेको हुँदैन। उसको 'आज' हुन हिजोको पृष्ठभूमि छ । हिजो र आजको यात्राले भोलिको बाटो तय गर्छ।
दैनिकी लेखाइ त्यस्तै हो । आज कुनै घटना सम्झियौं भने, सम्झना पो आजको भयो, तर घटनाको शृङ्खला त लामो हुन्छ नि। शिक्षक बन्न चाहने तिम्रा विद्यार्थी पनि विगतदेखि भविष्यसम्म सम्झिरहेका हुन्छन्। उनीहरू आफ्नो स्कुले जीवन, शिक्षकहरू, आफूले पढेको परिवेश सम्झिरहेका हुन्छन्, अनि भविष्यको शिक्षण यात्राको कल्पना गरिरहेका छन् । अब तिमीले दैनिकी लेखनमा उनीहरूलाई सिर्जनात्मक स्वतन्त्रता दिनुपर्छ । जब तिमी उनीहरूलाई विगत, वर्तमान, र भविष्य जोडेर लेख्न सिकाउँछौ, तब उनीहरूले सिर्जनाको सुन्दर माला उनेर तिमीलाई लगाइदिनेछन् ।
उनको कुरा सुनेर मेरो चित्त बुझ्यो । अबदेखि म विद्यार्थीलाई 'दैनिकी' भन्नासाथ केवल विवरण मात्रै नभई, अनुभव, स्मृति र कल्पनाको समुच्चय लेख्न सिकाउनेछु । राजुसँगको आजको यो भेटघाटले मलाई एउटा नवीन र गहिरो अनुभूति दियो । केवल प्रेम र विछोडको कथा मात्रै होइन, समयले कसरी सम्बन्धहरूलाई परिपक्व बनाउदोरहेछ भन्ने पनि सिकायो । त्यसैगरी, दैनिकी लेखाइ पनि केवल दैनिक गतिविधिको सूची मात्र होइन, त्यो विगतको सम्झना, वर्तमानको अस्तित्वबोध र भविष्यको परिकल्पनाको समुच्चय हो भन्ने राम्रोसँग बुझेँ । म घर फर्कँदै गर्दा सोच्दै थिएँ अब म आफ्ना विद्यार्थीलाई 'दैनिकी लेख' भन्नेछु, तर त्यसको परिभाषा भने फेरिएको हुनेछ । अब दैनिकी केवल 'आज' को होइन, त्यो हिजो, आज, र भोलिको कथा हो । मैले मित्र साक्षात्कार र विमर्शको महत्त्व पनि आज गहिरोगरी बुझ्न पाएँ धन्य मित्र राजु ।